त्रिपुरेश्वर–नागढुंगा सडक दसैंअघि पिच नहुने

भाद्र १९ – त्रिपुरेश्वर–नागढुंगा सडक दसैंअघि पिच नहुने भएको छ । १२ किलोमिटर लामो यो सडक दसैं अघि मर्मत मात्रै हुने तर पिच नहुनेकाठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीले जानकारी दिनुभयो । मुआब्जा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण तत्कालै सबै सडक पिच गर्न असम्भव भएपनि साउन १० गते बसेको मन्त्रिपरिषद बैठकले अहिलेको अवस्थामा नै सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर बर्षाका कारण दसैंअघि सडक पिच नहुने भएको छ । त्रिपुरेश्वरदेखि कलंकी सम्मको केहिभाग पिच भैसकेपनि कलंकीदेखि नागढुंगासम्मको सडक भने अस्तव्यस्त छ । सडकमा रहेका ठुल्ठुला खाल्डाखुल्डीका कारण दिनँहुजसो गाडी पल्टने र विग्रने गरेका छन् भने सडक वरपरका स्थानीयबासिन्दा धुलोधुँवालले हैरान भएका छन् । अहिले फुटपाथसहित १६ मिटर चौडाइ रहेकोमा विस्तारपछि २२ मिटर फराकिलो हुनेछ । तर यस्तै सडकको बीचमा तीनकुनेदेखि माइतिघर सडकको जस्तो बोटबिरुवा रोप्ने भनेपनि सडक साँघुरो भएका कारण त्यस्तो गर्न नसकिने आयोजनाले बताएको छ । अब गरिने पिचमा त्रिपुरेश्वरदेखि कलंकीसम्म सामान्य पिच मात्रै गर्ने र कलंकीदेखि नागढुंगासम्म बीचका चौडा भागमा मात्र त्यस्तो बोटबिरुवा रोप्नको लागि २ फिट जति छोडिने छ । ३० महिनामा सक्नेगरी २०७२ साल असार ३१ गतेदेखि काम थालिएको यो आयोजनाको प्रगति गएको साउनसम्म जम्मा ४५ प्रतिशत मात्र रहेको छ । यो सडक निर्माणको लागि चार खण्डमा एक अर्ब ५२ करोड रुपैयाँको ठेक्का दिइएको थियो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *