आजदेखि जोर विजोर प्रणाली लागू

मंसिर १३ – काठमाडौं उपत्यकामा आजदेखि आउँदो आइतबारसम्म गाडी तथा मोटरसाइकल चलाउन जोर विजोर प्रणाली लागू हुने भएको छ । भोलिदेखि हुन लागेको कार्यक्रम एसिया प्यासिफिक समिटमा विभिन्न देशका विशिष्ट व्यक्ति आउने भएकाले आइतबारसम्म गाडी र मोटरसाइकल जोरविजोर नम्बरका आधारमा मात्र चलाउन पाइने नियम लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज र पर्सि शनिबार विजोर नम्बरका गाडी र मोटरसाइकल मात्र गुडाउन पाइनेछ । यस्तै भोलि र आइतबार जोर नम्बरका गाडी मात्र चलाउन पाइनेछ । नम्बरप्लेटका अन्तिम २ अक्षरका आधारमा जोर विजोर गणना हुने गृह मन्त्रालयले जनाएको छ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका गाडीमा भने जोर बिजोर प्रणाली लागु हुने छैन । युनिभर्सल पिस फेडरेसन नामक सँस्थाले आयोजना गरेको कार्यक्रममा ४५ देशका १५ सय पाहुना आउने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागि हुन कम्बोडियाली प्रधानमन्त्री हुन सेन र म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ सान सुकी पनि नेपाल आउँदै हुनुहुन्छ । आज दिउँसो काठमाडौं आइपुग्ने हुन सेन र सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसित भेट गर्ने र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट मन्त्रालयले जनाएको छ । सम्मेलनमा सुकी र हुन सेनसमेत गरी ७ राष्ट्रका सरकार प्रमुख र उपप्रमुख, ५ प्रथम महिला, १० पूर्व राष्ट्र र सरकार प्रमुख, एक वर्तमान उपप्रधानमन्त्री, ७ मन्त्री, ५ संसद्का सभामुख तथा उपसभामुख गरी ४५ देशका १५ सय अतिथि आउने जनाइएको छ । सबै पाहुनालाई उपत्यकाका पाँचतारे होटलमा राख्ने आयोजकको तयारी छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *