भाद्र २७ – हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी आज मनाइँदै छ । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गरिरहेका छन् । भगवानको आराधनासहित तीजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्षाभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास व्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्मले राखेको छ । हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका तीजको व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।

हरितालिका (तीज)का अबसरमा काठमाडैंको पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *