पाँच वर्षभित्र ३० लाख करदाता पुर्याउने लक्ष्य

मंसिर १ – सरकारले आउँदो पाँच वर्षभित्र ३० लाख करदाता पुर्याउने लक्ष्य राखेको छ । सातौं राष्ट्रिय कर दिवस मनाइरहँदा आन्तरिक राजश्व विभागले यस्तो लक्ष्य सार्वजनिक गरेको हो । ‘कर:  समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नाराका साथ आज कर दिवस मनाईंदैछ । मंसिर १ गते मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई पारेर कर दिवस मनाउन थालिएको हो । अहिले देशभर करिब १८ लाख करदाता रहेका विभागले जनाएको छ । विभागका अनुसार कात्तिक मसान्तसम्म ९३ अर्ब ९४ करोड रुपैयाँ कर उठाउने लक्ष्य राखिएकोमा करिब ८५ अर्ब ९८ करोड उठ्न सकेको छ । विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सरकारी नीतिअनुसार उद्योग व्यवसायीसँगको समन्वयमा नागरिकलाई सुसूचित गराउँदै करदाताको सहभागिता बढाउनेतर्फ ध्यान दिएको बताउनुभयो । विभागको आर्थिक ऐन २०७५ अनुसार विगतमा करको दायरामा नआएका तर आर्थिक गतिविधिमा संलग्न करदातालाई आउँदो पुस मसान्तसम्म करको दायरामा आए छुट सुविधा दिने गरी करदाताको सहभागिता बढाउन लागेको हो । करको दायरामा आएका, स्थायी लेखा लिएका, मूल्य अभिवृद्धिकरमा दर्ता भएका तर विविध कारणले कर सहभागिता जनाउन नसकेका करदातालाई पनि आउँदो पुस मसान्तसम्ममा विगत दुई वर्षको आय विवरणसहित लाग्ने कर दाखिला गरेमा छुट हुने उहाँले बताउनुभयो । यस्तै २०७४ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएर कर विवरण नबुझाएका करदातालाई पनि पुस मसान्तसम्म विवरण बुझाउँदा उक्त छुट सुविधा दिइनेछ । यदि पुससम्म आएनन् भने त्यसपछि छानबिन गरेर लाग्ने कर असुल गरी दर्ता खारेज हुने विभागले जनाएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *