वि.सं.२०७६ वर्षको स्वन्ति नखः तिहार, शास्त्र र परम्परानुसार म्हपूजा कार्तिक ११ गते नै

दैवज्ञ कीर्तिमदन जोशी
सदस्य, नेपाल पञ्चांग निर्णायक समिति
सदस्य, पञ्चांग निर्देशक समिति, नेपाल संस्कृत विश्वविद्यालय

कुनै पनि तिथिपरक चाड्, पर्व, पूजा, कृत्यादि सम्बन्धित् तिथिक्षय, वृद्धिका कारण पूर्वविद्धा वा परविद्धा तिथि लिनुपर्नेमा सोहि अनुसार र अन्य सामान्य कर्ममा सूर्योदयकालीन तिथिमा हुने शास्त्रसम्मत व्यवस्था छ। जस्तोकि, “अहःसु तिथ्यः पुण्या कर्मानुष्ठानतो दिवा । नक्तादि व्रतयोगे तु रात्री योगी विशिष्यते ।। निर्णयसिन्धुू। तेस्तै, “या तिथि समनुप्राप्य उदयं याति भाष्करः, सा तिथि सकलाज्ञेया स्नानदानादिकर्मषुू। यदि कार्तिककृष्ण अमावस्यातिथि सूर्योदयदेखि प्रदोष रात्री निशाकालसम्म प्राप्त भएमा निसन्देह प्रातः गौपूजन र प्रदोष निशाकालमा महालक्ष्मीपूजा गरि सुखरात्रि मनाउनु पर्छ, भोलिपल्ट कार्तिकशुक्लपक्ष प्रतिपदातिथि सूर्योदयदेखि प्रदोष रात्रीकालसम्म देखिएमा प्रातः नेपालसम्वत् नववर्षारम्भ, गोवद्र्धनपूजा र चन्द्रोदय अपरान्हकाल वा सायन्हकालमा म्हपूजा(स्वदेह आत्मपूजा), बलिपूजा सहित दीपमालिका गरि सुखरात्रि मनाइन्छ। कारण, जुन कर्म जतिखेर गर्नुपर्ने हो, त्यो सोही समयमा गर्नु पर्ने शास्त्रसम्मत कुरा छ। किनभने, शास्त्रले कर्मणो यस्य यः कालः तत्कालव्यापिनी तिथिः । तया कर्माणि कुर्वीत ह्र्रासवृद्धी न कारणम्। विना शास्त्र तु यो व्रूयात् तमाहुर्ब्रम्हघातकम्।” को व्यवस्था गरेर कर्मकाल निर्देशित गरिएको छ। सूर्योदयकालीन केहीक्षणको कमजोर तिथि दिनभरकोलागि हुन्छ भन्ने कुरो शास्त्रविहित होइन। व्रत, उपवास, स्नान, दान, आदि जस्ता नियमित तथा अन्य सामान्य कर्मादि देवदेवीकोजात्रा, काक, स्वान् र गौपूजन्, आदिकोलागि सूर्र्योदयकालीनतिथि लिइन्छ।

विशेष निर्देशितकालमा सम्पन्न गर्नुपर्ने धर्म, संस्कृति, कर्म, पर्वादि कृत्य पितृकर्मकोलागि पनि प्रशस्य हुन्छन्। हाम्रा अधिकांश पर्व तिथिपरक अर्थात् चान्द्रय्प्रधान छन्। त्यसैले त, व्दिविधा हटाउन शास्त्रले “या तिथिः समनुप्राप्य उदय याति भास्कर। सा तिथि सकला ज्ञेया स्नानदानादि कर्मसु ।””कर्मणो यस्य यः काल तत्कालव्यापिनी तिथिः। तया कर्माणि कुर्वीत ह्र्रासवृद्धी न कारणम् ।।” सामान्यशास्त्र तो नूनं विशेषो बलवान भवेत्।” आदि व्यवस्था गरी विद्वान पुर्वजहरुले मानवजातिलाई काम गर्न सरल पारि दिएका छन्।

यदि सूर्योदयकालमा कार्तिकृष्णचतुर्दशीतिथि भै दिउंसो अमावस्यातिथि प्राप्त भएमा उक्त अमावस्यातिथिको प्रदोषरात्रीकालमा नै देवीमहालक्ष्मी पूजा गर्नुपर्ने हुन्छ र भोलिपल्ट सूर्योदयकालीन औंसीतिथि प्राप्त बिहान गौपूजन् गरेर कार्तिकशुक्ल प्रतिपदातिथि प्राप्त चन्द्रोदय अपरान्ह वा सायंकालमा दीपमालिका सहित म्हपूजा(स्वदेह आत्मपूजा), बलिपूजा गरि सुखरात्री मनाइन्छ भने चान्द्रतिथि गणनाले नेपालसंवत् नयांवर्ष प्रवेश(स्पर्श) हुन्छ। भोलिपल्ट कार्तिकशुक्ल प्रतिपदातिथि प्राप्त सूर्योदयकालीन समयबाट नेपालसंवत् नयांबर्ष प्रारम्भ हुन्छ “शुक्ल प्रतिपदि वत्सराम्भः। ता प्रतिपदौदपिकी ग्राह्याः।। (वर्षकृत्यप्दीपे)।” र यसै दिन यमव्दितीयातिथि प्राप्त मध्यान्ह वा अपरान्हकालमा भाईटीका गरिन्छ ।

अतः यो वर्षमा उपरोक्त बमोजिम कार्तिक १० गते आइतवार नरकचतुर्दशीतिथि बिहान ११।५०बजेसम्म र त्यस उप्रान्त औंसीतिथि भएकोले प्रातः कुकुरपूजा पछि प्रदोष निशाकालमा लक्ष्मीपूजा सहित दीपमालिका सुखरात्रि मनाएर भोलिपल्ट कार्तिक ११ गते सोमवार प्रातः ९।४३बजेसम्म औंसीतिथि रहेकोले गौपूजन् गर्नुपर्ने हुन्छ। कारण, “यथा दिन व्दये प्रदोष दर्श लाभेतु पूर्व दिने एव रात्रि सम्बन्धात्। या कुहुः प्रतिपन्मिश्र तत्र गाः पूजायेन्नृपः।।” निर्णयामृत । कार्तिक ११ गते सोमवार बिहान ९ः४४बजे समयमा ने.सं.११४० नववर्ष प्रवेश हुन्छ भने अपरान्हकाल वा सायन्हकालमा म्हपूजा(स्वदेह आत्मपूजा), बलिपूजा सहित दीपमालिका सुखरात्रि मनाउनु पर्छ। कार्तिक १२ गते मंगलवार सूर्योदयकालीन प्रातः नेपालसम्वत् ११४० प्रथम दिवस नववर्षारम्भ, गोवद्र्धनपूजा हुने र मध्यान्ह वा अपरान्हकालमा भाईटीका गरि यमव्दितीया पर्व सम्पन्न गर्नुपर्ने हुन्छ।

स्वन्ति नखः वा तिहार अखण्डित रुपमा लहरै तीन दिन चाड मनाएको उसबेलाको नेपालभाषाका विभिन्न थ्यासफूहरु मध्ये मुहूत्र्त सहितको वाक्यांश प्रमाण जस्ताको तस्तै उद्धृत गरिन्छः
संवत ७८४ आश्विणी कृष्ण चतुद्र्दशी उदयस तैलन स्नान। आश्विणी कृष्ण अमावासी इन्दुस मुहूर्त केलं श्रीलक्ष्मीपूजा….जुरो।। थ्वन संति सुखरात्री।। थ्वन संती यम व्दितीया।। लक्ष्मीपूजा…..जुरो।। प्रादो प्रमान मखो थ्वपरिपाति न।

म्हपूजा(स्वदेह आत्मापूजा) सम्बन्धी शास्त्रिय प्रमाणः
कार्तिके शुक्लपक्षे तु प्रतिपद् रात्रिव्यापिनी, तदा पूजा प्रकर्तव्या सुखरात्रिविधानत (कृत्यरत्नवल्या)
दिन द्वये प्रतिपदः सायाह्नव्याप्तभावेतु पुर्वैव।। रात्रौ वलि पूजाविधाने न कर्मकालव्यापित्वात् ।
परदिने चन्द्रोदयन्निषेधादिति दिक्।। (सत्कर्मरत्नावलि)
शुक्ला प्रतिपद अपरान्ह व्यापित्व पूर्वाग्रह्या। प्रतिपतसंमुखी कार्याया भवेदापदन्हिकी।। (निर्णयसिन्धु)
म्हपूजा(स्वदेह आत्मपूजा) किन, कसरी र कहिले गर्ने भन्ने सम्बन्धमा थप आधार प्रमाण भविष्यपुराण, ब्राम्हपर्व, प्रतिपत्कल्प, ब्रम्हपुराण, कृत्यचिन्तामणिः, कृत्यावाटिका, कुलार्णव तन्त्रको दशम उल्लासः, आदि ग्रन्थहरुमा पनि छन्।
भ्रातृपूजा सम्बन्धी शास्त्रिय प्रमाणः
व्दापरयुगमा कार्तिकशुक्ल व्दितीयातिथिमा दाजु यमराज बहिनी यमुनाको घरमा आउनु हुंदा बहिनी यमुनाले दाजुलाई पूजा गरी ठूलो सत्कार गरेकी थिइन् र सो वापत यमराजले पनि दुईवटा वर दिएका थिए “आजको दिन दाजुभाईलाई पूजा गरेमा दिदीबहिनीले वैधव्य स्थिति भोग्नु पर्दैन र दाजुभाईको आयुपनि क्षय नहोस् अर्थात् अकाल मृत्यु नहोस्”। यमव्दितीयाको दिन मध्यान्हः वा अपराह्नःकालमा यमपूजा गर्ने शाश्त्रीय बचनानुसार भ्रातृपूजा अर्थात् दाजुभाईको पूजा काल मध्यान्हव्यापिनी वा अपरान्हव्यापिनी हो ।

यमव्दितीया तु प्रतिपद्युता ग्राह्योत्युक्तम् (निर्णयामृते, निर्णयामृतादौ)।
यमव्दितीया अपरान्ह व्यापिनीति दक्षिणात्याः, मध्यान्ह व्यापिनी ग्राह्या (हेमाद्र्यनुयिनाम्)।
यमव्दितीया मध्याह्नव्यापिनी पूर्वविद्धा चेति (निर्णयसिन्धु, हेमाद्रिः)।
यमव्दितीया तु प्रतिपद्युता ग्राह्या इत्युक्तं। (निर्णयामृते)

अतः तिथिको चन्द्रोदय कालमान समाई श्रद्धापूर्वक एवं गाम्भिर्यतापूर्वक दैविकी, अध्यात्मिक र तन्त्रोक्त विधिविधानले युक्तभई गरिने अव्दितीय तन्त्रोक्त, अध्यात्मिक एवं पौराणिककर्म तिहार चाड अर्थात् स्वन्ति (स्वन्हुति वा स्वन्हुतिथि) नखः हो। हाम्रा शास्त्रीय व्यवस्थाहरु प्राकृतिक वस्तुस्थिति अनुरुप र लोककल्यणकारी हेतु हुनुकासाथै कालगणना पद्धति पनि प्रकृतिसम्मत र वैज्ञानिक नै भएकोले आफ्ना परम्परागत चाड पर्व र संस्कार जोगाउने जिम्मा हामी आफ्नै नेपालभाषाभाषी नेवारहरुको होे। हचुवा वा राजनैतिक हूलका कारणले नभई शास्त्रीय एवं आध्यात्मिक तवरले सोको कर्म कृत्य गरी परम्पराको वैज्ञानिकता समेत बुझ्न प्रयत्न गर्नु पर्दछ। पञ्चांगको प्रकाशन पनि यसैकोलागि हो। आफ्ना धर्म संस्कृति परम्पराको अनुपालनका लागि उद्बुद्ध व्यक्तिहरु यस्ता बिषयमा सचेत र विशेष अध्ययनशील हुनु जरुरी छ। यस्तो शास्त्रीय एवं ऐतिहासिक बिषयमा कहिल्यै पनि अन्य बिषय जस्तो धर्म, संस्कृति र तन्त्रलाई पनि फ्यूजन गर्ने गलती गर्नाले विकृतिलाई नै बढावा दिने हुन्छ।

सय वर्ष अघिका नेपाली पात्रोहरु अध्ययन गरिंदा पनि अखण्डीत रुपमा रहेको स्वन्हुतिथि वा स्वन्हुति अर्थात् स्वन्ति नखः तिथि घट्बढ् हुंदा पनि क्रमैसंग अहिले कै जस्तो स्थिति वि.सं. १९६२, १९६६, १९६९, १९७१, १९७२, १९९०, १९९१ र २००५ लगायत यसपछिका वर्षहरुमा पनि भएका थिए। त्यसरी नै वि.सं. १९८५, १९८६, १९९५ र १९९६ वर्षहरुमा पनि अहिलेकै जस्तो अवस्था रहेको तर, १९८५ मा सूर्यग्रहण परेका कारण लक्ष्मीपूजा र म्हपूजा वीच एकदिन खण्डीत गरि म्हपूजा भोलिपल्ट सारेको पाइयो भने, १९८६मा लक्ष्मीपूजा र म्हपूजा वीच तथा १९९५ र १९९६मा पनि म्हपूजा र भाईटीका वीच विना कारण एकदिन खण्डीत गरिएको पाइयो, जसले गर्दा शास्त्रानुसार गलग्रहदोष (अर्थात्, आरम्भ गरेका भोलिपल्ट गर्नु पर्ने त्यो कर्म कृत्य नहुनाले वा क्रम भंग भै कृत्य टुट्नाले हुने तिथि विशेष दोष) राष्ट्र् र जनताले भोग्नु पर्ने स्थिति पैदा भए। कुनैपनि कुरा नीतिगत आधार प्रमाण, निर्देशन र नियम भित्र रही कार्य गर्नाले उचित फलको आशा गर्न सकिन्छ र यसको विपरित भएमा अशुभ पनि हुने भए।

अर्को स्मरणीय बिषय के हो भने, म्हपूजा(स्वदेह आत्मापूजा) र नेपालसंवत् वीच कुनै तरहले पनि तात्विक अन्तरसम्बन्ध छैन कारण, म्हपूजा(स्वदेह आत्मापूजा) चल्दै आएको करीव ५,५०० वर्ष भन्दा बढी भैसकेको भन्ने भविष्यपुराण लगायतका ग्रन्थहरुले नै बताउंछ भने राष्ट्र्यि विभूति शंखधर साख्वाः कालको नेपालसंवत् भर्खर ११३९ वर्ष पूरा हुंदैछ। हाम्रो देशमा धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक अन्तर्गत तिहारमा मनाइने लक्ष्मीपूजा, म्हपूजा, नेपालसंवत् र भ्रातृपूजा बाहेक पनि अन्य थुप्रै चाड पर्वहरु छन्, एउटालाई चलायो भने अन्य चाड पर्वहरुलाई के गर्ने भन्ने सवाल उठ्न सक्छ। धर्म, संस्कृति र आध्यात्मिकतामा राजनैतिक वा हूलका कारण जबर्दस्त फ्यूजन गरेर विज्ञानलाई चुनौती दिने प्रयास भयो भने भविष्यमा नसोचेको थप विकृति र विचलन आउने सम्भावना रहन्छ। अतः एउटै एकादशी तिथि पनि दुई थरीले दुई भिन्न दिनमा मान्नुको सटृा ज्योर्तिगणितीय आधारमा एउटै हुुनु पर्दछ र विभेद हटाउनु पर्छ भनी आवाज उठिरहेको बेला फेरी उस्तै खाले समस्या सिर्जना हुन दिनु उचित होइन। हाम्रोमा काल विशेषका चाड पर्वहरुको कर्म कृत्य कतिखेर के, कुनचाहिं, कहिले गर्ने भनी तोकिएका छन्। वेद र धर्मशास्त्रोक्तको कर्महरुमा चान्द्रऋतुको स्मरण श्रेष्ठ हुने हुनाले धर्मको मर्मलाई मात्र होइन चाड पर्वहरुको गौरवलाई समेत कसरी पुनःस्थापित गर्न सकिन्छ सोच्नु जरुरी भैसक्यो भने सौर एवं चान्द्र ऋतुको वास्तवितालाई सबैले बुझ्नु अत्यावश्यक छ। अस्तु।

मोः ९८४१७६९९०४

E-mail:  km_joshi@hotmail.com

 

 

Facebook Comments
HERITAGE/CULTURE, OPINION

Leave a Reply

Your email address will not be published. Required fields are marked *