९० प्रतिशत मिठाई पसलमा अखाद्य मिठाइ बिक्री

कार्तिक २० – भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रका ९० प्रतिशत मिठाई पसलमा अखाद्य मिठाइ बिक्री हुने गरेको पाइएको छ । अनुगमनमा क्रममा अखाद्य वस्तु मिसाएको, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई बेच्ने गरेको पाइएको हो । यस्तै कतिपय मिठाइ पसल दर्ता र नविकरण पनि नभएको पाइएको अनुगमन समितिका संयोजक तथा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा सृजनानगरमा रहेको कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको पाइएको हो । मिठाई बनाउँदा पाँच किलोमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भएपनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउनेलाई पाँच हजार रुपैया जरिवाना र ६ महीना कैदको व्यवस्था छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *