एक समय गोरखनाथ उपत्यका आएछन् । उपत्यकाका बासिन्दाले उनलाई भिक्षा दिएनन् । भिक्षा नपाएपछि गोरखनाथ रिसाएर नागहरुलाई नियन्त्रणमा लिएर आफनो आसन बनाएर बसेछन् । नागको आसनमा बसेर तपस्या गर्न थालेछन् । नागमा उनी बसेका कारण पानी पर्न छोड्यो ।

यहि क्रम १२ वर्षसम्म कायम रह्यो । पानी नपरेपछि बाली उब्जन सकेन । जनजीवन अस्तब्यस्त हुन थाल्यो । त्यसपछि किन पानी परेन भनेर उपत्यकामा बृहत रुपमा छलफल हुन थाल्यो । तान्त्रिकहरुले गोरखनाथ नागको आसन बनाएर बसेकाले पानी नपरेको निष्कर्ष निकालेछन् ।

 

गोरखनाथलाई आसनबाट कसरी उठाउने त ? उत्तरको खोजी हुन थाल्यो । अन्तत भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई ल्याउने निर्णय भयो । ल्याउने कसरी ? यसबारे पनि विस्तृत छलफल  भयो । समस्या तीनैवटा देशको भएकोले तीनैवटा देशका प्रतिनिधि जाने तय भयो । भक्तपुरका त्यसबेलाका लिच्छवी राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापुको टोली मच्छिन्द्रनाथलाई ल्याउनको लागि बन्यो ।

राजाको नेतृत्वमा टोली भारतको कामारुकामाक्षमा गयो । तान्त्रिकले तारणले हान्यो । तारणको शक्तिले रातो मच्छिन्द्रनाथलाई तान्न थाल्यो । रातो मच्छिन्द्रनाथ तान्त्रिकको बशमा पर्न थाल्यो । तारणको शक्तिले रातो मच्छिन्द्रनाथलाई तान्त्रिकको ठाउँमा जाउँ जाउँ  लाग्न थाल्यो । जतिखेर पनि घरबाट निस्कन प्रयास गर्न थाले । जुन उनको आमालाई मन परेन । त्यसैले आफु सुतेको समयमा छोरा घरबाट बाहिर जान नसकोस् भनेर कपाल ढोकामा फिंजाएर रातो मच्छिन्द्रनाथको आमा सुतिन ।

यता तान्त्रिकको तान्ने शक्तिले मच्छिन्द्रनाथलाई बसी नसक्नु भएछ । जतिखेर पनि बाहिर निस्कौं निस्कौं लाग्न थाल्यो उनलाई । तर निस्कने कसरी आमाको कपाल नाघेर । त्यसैले उनले आमाको एउटा एउटा कपाल पन्छाउँदै घरबाट निस्कनको लागि बाटो बनाउन थाले । सबै कपाल पन्छ्याएको जस्तो लागेर उनी निस्किए । तर आमाको एउटा कपाल पन्छाउन बाँकी रहेको उनले चालै पाएनन् र उनी घरबाट निस्किए । आमाको कपाल नाघेकोले उनको खुट्टामा कुष्ठरोग लाग्यो भन्ने गरिन्छ ।

भँवराको रुपमा ढोकाबाट निस्किएका मच्छिन्द्रनाथलाई ललित ज्यापूले बोकेको चाँदीको कलशमा राखेर टोलीले उनलाई नेपाल ल्यायो । देवतालाई नेपाल त ल्यायो, सँगै समस्या पनि पछि लाग्यो ।  रातो मच्छिन्द्रनाथलाई कहाँ राख्ने भन्ने विवाद हुन थाल्यो ।

मेरो नेतृत्वमा भारत गएकोले मच्छिन्द्रनाथलाई भक्तपुरमा राख्नु पर्दछ भन्न थाले भक्तपुरका राजा । त्यस्तै तारण नहानेको भए मच्छिन्द्रनाथलाई कसरी नियन्त्रणमा लिन सकिन्थ्यो भन्ने तर्क थियो काठमाडौंका तान्त्रिकको । त्यस्तै मैले बोकेर नल्याएको भए कसरी नेपाल पुग्थ्यो भन्ने तर्क थियो ललितपुरका ललित ज्यापूको । त्यसैले रातो मच्छिन्द्रनाथलाई कहाँ राख्ने भन्ने विवाद लम्विन थाल्यो ।

पछि ललितपुरका ललित ज्यापूले पास्नी सकेका बृद्ध भनेका देवता सरह हुने भएकोले बृद्धले जे निर्णय दिन्छ त्यहि मान्ने भन्ने प्रस्ताव राखे । सबैले प्रस्तावमा सर्मथन गरे । ललितपुरको इटी टोलका एक बृद्धलाई ज्यापूले नून मिसाएर दही चिउरा खान दिए । नूनको सोझो गर्नु पर्दछ भनेर बृद्धले मच्छिन्द्रनाथलाई पाटनमा राख्नुपर्दछ भन्ने विचार पोखे ।

सबैले बृद्धको कुरा सुन्ने भनेर वचन दिएकाले मच्छिन्द्रनाथलाई पाटनमा नै राखेर भक्तपुरका राजा र काठमाडौका तान्त्रिक खाली हात फर्किए । तर जानुअघि भक्तपुरका राजाले दसैंसम्म पनि रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएन भने रथ भक्तपुरमा लैजाने चेतावनी दिएर गए । भक्तपुरको न्यातापोल मन्दिर मच्छिन्द्रनाथको लागि बनाएको भन्ने गरिन्छ ।   तर नूनको सोझो गरेका कारण बृद्ध जमिनमा भासिए । आजसम्म पनि बृद्ध भासेर गएको खाल्डो इटी टोलमा छ  ।

रातो मच्छिन्द्रनाथलाई सम्मान गर्न गोरखनाथ नागको आसनबाट उठे । फलस्वरुप नागहरु मुक्त भए र पानी पर्न थाल्यो । त्यसैले अहिलेसम्म पनि रातो मच्छिन्द्रनाथको रथारोहण गर्नुअघि भारतको कामारुकामाक्षबाट ल्याएको प्रतिक स्वरुप कटुवालदहबाट देवता ल्याउने चलन छ । कटुवालदहबाट चाँदीको कलशमा देवता ल्याएपछि मात्र रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिन्छ ।

– उपत्यकामा प्रचलित लोककथामा आधारित

Facebook Comments
ब्यानर, लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *