धेरै वर्ष अघि काठमाडौ उपत्यकाको टौदहको पोखरीमा बस्ने नागराज कर्कोटकको रानी नागिनीको आँखा दुखेको थियो । नागिनीको आँखा उपचार गर्नको लागि बैद्यहरुको खोजी हुन थाल्यो । राजाको कानमा भक्तपुरका ज्यापू बैद्यले निको पार्न सक्छ भन्ने कुरा पुग्यो , नागराजले भक्तपुर नै पुगेर उक्त बैद्यलाई आफ्नो नागिनीको आँखाको उपचार गर्नको लागि अनुरोध गरेछ । राजाको अनुरोध स्वीकारेर बैद्यले रानीको आँखामा मलम लगाइदिएछ । औषधिले छोयो , रानीको आँखा निको भयो । नागनागिनी खुसि भएर उक्त बैद्यलाई धेरै उपहार दिएर विदा गरे । ती उपहार मध्ये विभिन्न मणि जडित भोटो बैद्यलाई निकै मन पर्न थाल्यो । राजारानीको उपहार भोटो बेला बेलामा लगाएर ज्यापु बैद्य बाहिर निस्कने गर्दथ्ये । सबैलाई लोभ्याउने खालको थियो त्यो भोटो । बैद्यको भोटोमा एउटा भुतले आँखा गाढ्न थाल्यो । उसले जसरी भए पनि त्यो भोटोमा आफनो अधिकार जमाउन चाहन्थ्यो ।

एकदिन भोटो फुकालेर खेतको आलीमा राखेर बैद्य खेतमा काम गर्दै थिए । भूतले मौका छोपेर भोटो चोर्यो। हुनत खेतमा काम गरिरहेका बैद्य पनि चोर समात्न पछि लाग्यो तर उसले भुतलाई भेट्टाउन भने सकेनन् । त्यस बेलामा रातो मच्छिन्द्रनाथको रथजात्रा चलिरहेको थियो । भात छर्केर जात्रा गर्ने दिन अर्थात जाव्हला जात्रा चलिरहेको थियो । मानिस मात्र नभएर त्यसबेला भूतप्रेतहरु पनि मानिसको भेषमा जात्रा हेर्न आउँथ्यो । चोर भूत पनि मणि जडित भोटो लगाएर जात्रा हेर्न आएका थिए । बैद्य पनि चोर भूत आएको छ कि भनेर त्यहि नै पुगेका थिए । संयोगले दुबैको भेट जाव्हलाखेलमा भयो । भोटोको स्वामित्वलाई लिएर दुईविच विवाद हुन थाल्यो । विवादले ठूलो रुप लियो । जात्रा हेर्न आएका राजा वरदेवको कानसम्म पुग्यो । राजाले दुबैलाई भोटोको स्वामित्वको प्रमाण पेश गर्नलाई आदेश दिए । दुबैले प्रमाण पेश गर्न भने सकेनन्  । अन्ततः राजाले वास्तविक हकदार प्रमाण सहित नआएसम्म भोटोलाई रातो मच्छिन्द्रनाथको जिम्मामा छोड्ने निर्णय सुनाए ।

भोटो नपाएर विरक्तिएका बैद्य आफुलाई भोटो उपहार दिने नागसमक्ष पुगेर भोटोको प्रमाण पेश गरिदिनको लागि अनु्रोध गर्न गएछ । नागले पनि आफू मान्छेको भेषमा सेतो लुगा लगाएर आउने , अरुभन्दा अग्लो देखिने र आफू आउँदा हुरी सहित पानी पर्नेछ भनेर बैद्यलाई भनेछन् । अर्को  वर्षमा जाव्हलाजात्राको दिन राजा वरदेवले जात्रा हेर्न आएछ, बैद्य पनि आफ्नो भोटो पाउने आशमा जाव्हलाखेलमा आइ पुगेछ। नागले भने झै हुरी पनि चलेछ । तर बैद्यले नागलाई ठम्याउन भने सकेनछ । राजाले यो भोटो कस्को हो प्रमाण सहित दाबी गर्न आउनु भनेर चारै दिशामा भोटो देखाएछन् । तर प्रमाण सहित कसैको पनि दाबी परेनछ । हालसम्म  पनि यहि प्रक्रिया चलिरहेको छ ।  प्रमाण सहित कसैको पनि भोटोमा दाबी नपरेका कारण लिच्छवि राजा वरदेवको पालादेखि अहिलेसम्म पनि भोटो जात्राले निरन्तरता पाएको छ ।

– उपत्यकामा प्रचलित लोककथामा आधारित

Facebook Comments
लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *