मंसिर ११ – सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरु गर्दैछ । श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र उनीहरुका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो । काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको घोषणा गर्नुहुनेछ । योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दीगो व्यवसायिक वातावरण, असल श्रम सम्वन्धको निर्माण तथा आम श्रमिकको मर्यादित जीवनको लागि महत्व राख्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा योजना उत्सवका रुपमा मनाउन मन्त्रालयले सबै सरकारी एवं गैरसरकारी संघसंस्थालाई आग्रह गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा आकस्मिक रुपमा आइपर्ने समस्याको निराकरण गर्न र भविष्यलाई सुरक्षित बनाउन अगाडि सारिएको सुरक्षा कार्यक्रम हो ।

अहिले पहिलो चरणमा यो योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकलाई समेट्नेछ । दोश्रो चरणमा भने अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेटिने मन्त्रालयले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा अन्तर्गत रोजगारदाताले श्रमिकको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैयाँबाट ११ प्रतिशत अर्थात १ हजार ४ सय ७९ रुपैयाँ काटिनेछ । त्यसमा रोजगारदाता कम्पनीले २ हजार ६ सय ९० रुपैंया थप्नेछ । अब सामाजिक सुरक्षा कोषमा श्रमिकको मासिक योगदान ४ हजार १ सय ६९ रुपैंया ५० पैसा हुनेछ । यही रकमबाट सरकारले बिभिन्न स्किममार्फत श्रमिकलाई सहयोग उपलब्ध गराउनेछ । यसमध्ये सबैभन्दा बढी वृद्धवृद्धालाई एकमुष्ट पेन्सन आउने गरी २८ दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा दिइनेछ । यस्तै औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत विभाजन गरिएको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *