स्मार्ट सिटी होइन , अव स्मार्ट इको सिटी

कार्तिक १५ – दु्र्तगतिमा जनसंख्या ओइरिएको अवस्थामा काठमाडौंको पर्यावरणलाई बचाउनका लागि स्मार्ट इको सिटी बनाउने काठमाडौंका १८ ओटै नगरपालिका सहमत भएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुर महानगरपालिका र युएन ह्याविटाटले बुधबार राजधानीमा आयोजना गरेको इकोसिटी प्रवद्र्धनसम्वन्धि परामर्श कार्यक्रममा नगरपालिकाले काठमाडौं शहरलाई बचाउन पानी भण्डारण पोखरी, रिचार्ज पोखरी, पार्कहरु बनाउँदै पर्यावरण मैत्रीशहर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । पुराना नगरहरु वैज्ञानिक तवरले बनेको र यसमा प्रकृति, आर्थिक र सामाजिक सामञ्जस्यता कायम भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नेमा पनि नगरपालिका प्रतिनिधिहरु सहमत भएका छन् ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्मार्ट इकोसिटीमा जोड दिंदै नयाँशहर प्रकृति मैत्री हुनुपर्नेमा जोड दिनु भयो । शहर बनाउँदा धनीमानीलाई मात्र सोचेर नभइ गरिवका लागि सोचेर व्यवस्थित गर्नुपर्नेमा जोड दिंदै उनले शहर पर्यामैत्री नभएकाले अहिले मुटु, प्रेसर, मधुमेह जस्ता नसर्ने रोगको प्रकोप वढेको जानकारी दिनु भयो ।
शहर ठूला कंक्रिटको बनाउने कार्यलाई हतोत्साही पार्दै परम्परागत संस्कृतिको संरक्षण हुने हिसावले शहरको परिकल्पना गर्नुपर्नेमा उनले नगर पालिकाका मेयर, उपमेयर र प्राविधिकहरुको ध्यानाकर्षण गरेका थिए । यसका सार्थ उनले शहरको सम्पदा, प्राकृतिक स्रोतको सुरक्षा र संरक्षणका साथै आदिवासी समुदायलाई खलल नपार्ने गरी शहरको विकास गर्न जरुरी भएको औंल्याएका थिए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा लिभेबल सिटीको अवधारणाअनुरुप ३० प्रतिशत खुला ठाउँ हुनुपर्नेमा मुश्किलले ४ प्रतिशत मात्र खुला क्षेत्र बाँकी रहेको बताउनु भयो । २० वर्ष जनप्रतिनिधी नहुँदा खुलाचौरहरु धेरै व्यक्तिले खाइ दिएको बताउँदै उहाँले इञ्जिनियरिङ्ग क्याम्पस र युएन क्षेत्रका पर्खाल भत्काइ उक्त दुवै क्षेत्रलाई पर्यावरणमैत्री बनाउने योजना रहेको जानकारी दिनु भयो । ललितपुरले साइकल ट्रयाक निर्माण गर्नका लागि ५० लाख छुट्याएको पनि स्पष्ट पानुृ भयोे ।
नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले इकोसिटीका लागि नेचर र कल्चरको सामञ्जस्यता आवश्यक रहेको बताउनु भयो । उहाँले निजी कार र ठूलो भवन हुँदैमा शहर धनी नहुने र धनी शहर बनाउन सवै जनाले सार्वजनिक गाडी चढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो । इकोसिटी ब्युल्डर, क्यालिफोर्नियाका कार्यकारी निर्देशकक्रिस्टन मिलरले काठमाडौंमा हिंड्न लायक वस्तीहरु धेरै भएको र यसको प्रवद्र्धन तथा सम्वद्र्धन गर्नुपर्नेमा ध्यानाकर्षण गराउनु भयो । इकोसिटी ब्युल्डरकै स्कट एलनले हरेक नगरपालिकासँग इकोसिटी स्ट्यान्डर्ड हुनुपर्नेमा उहाँको जोड थियो ।
इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका प्रा डा. सुदर्शनराज तिवारीले काठमाडौं उपत्यकाका शहर परापूर्व कालदेखि नै दीगो शहरको रुपमा व्यवस्थित गरिएको र यहाँ खाद्य सुरक्षा हुनुका साथै प्रकृतिमैत्री रहेको दृष्टान्त दिनु भयो । अहिले कृषि योग्य जमीन मास्ने, जंगल मास्ने, पोखरी सिध्याइदिने, खोलामा रिटेनिङ्गवाल बनाएर शहर बनाइरहेकोमा उहाँको आपत्ति थियो । पश्चिमबाट शहर बनाउने तरिका अन्धधुन्ध सिक्दा शहर विग्रेको बताउँदै उनले एउटा दीगो शहरमा पानी, जमीन, हावाको प्रदुषण हुन नहुने र जलवायु परिवर्तनको असर पर्न नहुने जानकारी दिनु भयो ।
रेस्फेकका अध्यक्ष प्राडा शरदराज वन्तले काठमाडौंका शहर पहिला इकोसिटी भएको र अवको स्मार्टसिटीलाई कसरी प्रकृति मैत्री बनाउने भने कुराको योजना बनाउनुपर्नेमा जोड दिनु भयो । ललितपुर महानगरपालिकाका प्राविधिक प्रदिपराज अमात्यले तत्काललाई इकोसिटीमा जान गाह्रो हुने भएकाले इकोकम्युनिटी बनाउने कोशिस भइरहेको बताउनु भयो । वाटर रिचार्जका लागि दरबार क्षेत्रमा कालोपत्रेका सट्टा ढुगा छापेको र ढलमा वाटर रिचार्ज गर्ने सिस्टम बनाएको जानकारी दिनु भयो ।
कार्यक्रममा गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले डेढ वर्षपछि १८ ओटा नगरपालिकाका फोरम बनेको र यसैंमार्फत वातावरण संरक्षण गर्ने प्रतिवद्ध गरिसकेको जानकारी दिनु भयो । कार्यक्रममा १८ ओटै नगरपालिकाका उपप्रमुख र प्राविधिकहरुले नगरपालिकाले इकोसिटी बनाउन अवलम्वन गरेका प्रगति र समस्याका बारेमा प्रस्तुति गरेका थिए ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *