समता काव्यमा सुधीर ख्ववि  सन्ध्या नायक

साउन १० – पोखरेली युवा सांस्कृतिक परिवारको मासिक समता काव्य सन्ध्याको ३०३ औं शृङ्खला सम्पन्न भएको छ । हरेक महिनाको पहिलो शनिबार हुँदै आएको सन्ध्याको यस पटकको शृङ्खलामा सन्ध्या नायक कवि सुधीर ख्वविले आफ्ना ५ कविता सुनाउनुभएको थियो । । नेपाल भाषाको कविता लेखनमा बढी सक्रिय कवि ख्वविले नेपाल भाषाको कवितासमेत सुनाउनुभएको थियो । उहाँले पोखरामा आएर कविता सुनाउन पाउँदा गौरव लागेको बताउनुभयो ।

परिवारका अध्यक्ष दीपक समीपको अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठले आजका कविहरु साँच्चै कविता लेखिरहेका छन् कि कविताका नाममा आफूलाई विज्ञापित गरिरहेका छन् भन्ने अन्यौल देखिएको टिप्पणी गर्नुभयो । कविता कविकै जीवनको प्रतिबिम्ब भए पनि कविताले पाठक वा स्रोतालाई स्पर्श गर्न सके मात्रै कविताले जीवन पाउने श्रेष्ठको भनाइ थियो । `नेपाली साहित्यमा आख्यान बिकेको छ, आख्यानमा काव्यात्मक गुण खोजिएको छ´ उहाँले भन्नुभयो, `तर वास्तविक कविता बिक्न सकेको छैन, कविहरुले बजारीकरण गर्न नसकेकै कारण यस्तो भएको हो ।´ उहाँले कविताको योगदानको हिसाब पैसामा गर्नै नसकिने बताउनुभयो ।

सहसचिव सन्तोष बस्यालको सन्चालन र उपाध्यक्ष प्रकाश ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा कविहरु भूमिराज बस्ताकोटी, प्रकाश अधिकारी, सुनील बज्राचार्य, मैयाँ सुवेदी , आरजु बिष्ट सल्यानी , कृष्णप्रसाद पौडेल, प्रकाश पोखरेली, भावना पोखरेल, अल्पज्ञानी, सन्जीव पौडेलसहित १० जना कविहरुले कविता सुनाएका थिए ।

परिवारले नियमित समता काव्य सन्ध्यामा १ जनालाई सन्ध्या नायकका रूपमा निम्त्याउँदै अन्य १० कविहरुको कविता सुनाउँदै आएको छ । यसपटक  समताले कवि ख्वःविलार्इ  निम्त्याएको हाे । नेपाल भाषाका ३ वटा कवितासङ्ग्रहसहित आधा दर्जन कृति ख्वविका प्रकाशित छन् ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *