वि.सं. २०७५ वर्षको श्रीरातोमत्स्येन्द्रनाथ रथयात्रा सन्दर्भमा उठेका केही कुरा

हाम्रो देश नेपाल लगायत विश्वमा समेत लामो अवधिसम्म चल्ने एकमात्र ऐतिहासिक एवं मौलिक संस्कृति जात्राको रुपमा परिचित तथा आदिकाल देखि नै देशको सहकालका देवता कहलिएको श्रीरातोमत्स्येन्द्रनाथदेवतासित सम्बद्ध भोटोजात्रा संस्कृति समेत परम्परा अनुसार राजा, महाराजाधिराज वा राष्ट्र्पतिबाट समेत नजर हुने भई सर्वसाधारण जनताले जात्रा पर्व चाड संस्कृति हर्षोल्लासका साथ मनाउन् भनी नेपाल सरकारले गौरव र महत्वकासाथ सार्वजनिक विदा समेत दिंदै आएको राष्ट्र्यि सांस्कृतिक पर्व श्रीरातोमत्स्येन्द्रनाथदेवताको जात्रालाई नेपाल सरकार र जनस्तरबाट समेत विश्वसम्पदा सूचीमा समेत समाविष्ट गराउना निमित्त भरमग्दुर प्रयत्न भईरहेको स्थितिका साथै श्रीरातोमत्स्येन्द्रनाथदेवताको रथ निर्माणमा चाहिने बेत नेपाल मै उत्पादन गरी सरकारी खर्च र सामग्रीमा राहत पुगोस् भन्ना हेतु केही वर्षअघि सरोकारवाला समूह गठन गरी भारतबाट बेतको बिउ झिकाइ ललितपुरको दक्षिणीभेगमा अवस्थित काभ्रे लेले डांडाको सामुदायिक वनमा बृक्षारोपण समेत भैसकेको छ ।

देशको एकमात्र पञ्चांग निर्णायक समितिबाट स्वीकृति प्राप्त गरी प्रकाशन हुने पात्रोमा समाविष्ट हुने गरी मुलुकका विभिन्न महत्वपूर्ण जात्रा, चाड, पर्वादि संस्कृति मध्येको ललितपुरको श्रीरातोमत्स्येन्द्रनाथदेवताको वि.सं. २०७५ सालको श्रीरातोमत्स्येन्द्रनाथदेवताको रथयात्रा सम्बन्धमा पनि नेपाल पञ्चांग निर्णायक समितिमा बसेको पटक पटकको औपचारिक अनौपचारिक बैठकहरुमा पञ्चांगकारहरु लगायत गुठी संस्थानका प्रतिनिधि सहितको सक्रिय सहभागीतामा सप्रमाण घनीभूत छलफल भई परम्परा अनुसार वैशाखशुक्ल चतुर्थीतिथि तद्नुसार वि.सं. २०७५ बैशाख ६ गते बृहस्पतिवारका दिनमा श्रीरातोमत्स्येन्द्रनाथदेवताको रथयात्रारम्भ गरिएको हो । श्रीको कार्यमा तिथिलाई प्रधानता दिईएको हुंदा बैशाखशुक्लपक्ष प्रतिपदातिथि देखि चतुर्थीतिथिको वीचमा कुनै तिथि क्षय वा बृद्धि नभई क्रमबद्ध नै भएमा सरासर प्रतिपदातिथिमा रथारोहण भई चतुर्थीतिथिमा पुल्चोक मन्दःपाटीबाट श्रीको रथयात्रारम्भः हुने गर्दछ र तिथि क्षय र बृद्धि भएको अवस्थामा पनि चतुर्थी (चोंथी) तिथिलाई नै समाएर प्रधानता दिई श्रीको रथयात्रा हुने गर्दछ, सौर दिन र गते वा तारेखको गणनाले चार दिनमा रथयात्रा हुने होइन । श्रीको अन्य थप ज्योतिषीय कार्यकोलागि समेत आवश्यक परे बखत वा कुनै शंका उपशंका निवारण एवं उचित निर्णय गर्ना निमित्त सम्बन्धीत निकायबाट श्रीको प्रमुख ज्योतिषी खलकसंग सोधपुछ हुने गरिन्छ र सोधनी भएको बखत सोधिए बमोजिम आफ्नो उचित राय, सल्लाह पनि दिंदै आईरहेको पाइन्छ ।

ललितपुरमा अवस्थित श्रीरातोमत्स्येन्द्रनाथ करुणामयसंग सम्बन्धित सरोकारवाला प्रमूख ज्योतिषी खलकको जिम्मेवारी र कर्तव्यले पनि उपरोक्त बिषय २०७५ बर्षको वैशाखमा हुने श्रीरातोमत्स्येन्द्रनाथ करुणामयको रथयात्रारम्भः तिथि मितिका सम्बन्धमा वैशाखशुक्लपक्ष चतुर्थी (चौंथी)तिथि तद्नुसार वि.सं. २०७५ साल वैशाख ६ गते बृहस्पतिवारका दिनमा ल.पु. श्रीरातोमत्स्येन्द्रनाथ करुणामयको रथयात्रारम्भः ल.पु. पुल्चोकबाट हुने गरिएबाट श्रीसंग सम्बन्धित केही ऐतिहासिक कुरा र विभिन्न तिथिमा भए गरेका केही उदाहरणहरु सहितका प्रमाणहरु सर्वसाधारण सबैको जानकारीको निमित्त प्रस्तुत गरिन्छ ।

(क) श्रीकरुणामय (बुंगद्यः)को रथारोहण एवं रथयात्रा सम्बन्धी सांस्कृतिक परम्परा 
१. सामान्यतया बैशाखशुक्लपक्ष प्रतिपदातिथि देखि चतुर्थीतिथिको वीचमा कुनै तिथि क्षय वा बृद्धि नभई क्रमबद्ध नै रहेको अवस्थामा बैशाखशुक्लपक्ष प्रतिपदातिथिमा श्रीको रथारोहण भई ऐ चतुर्थीतिथिमा रथयात्रारम्भः हुने गर्दछ ।
२. तर, कहिलेकांही बैशाखशुक्लपक्ष प्रतिपदातिथि देखि चतुर्थीतिथि वीच यदि कुनै तिथि बृद्धि भएमा चतुर्थीतिथि भनेर पांचौदिनमा श्रीको रथयात्रा हुने नभई पूर्वविद्धा चतुर्थीतिथि अर्थात् अघिल्लो चतुर्थीतिथि लिई चौंथोतिथि समाइ तृतीयापरचतुर्थीतिथिमा साविक बमोजिम शान्ति स्वस्ती सहित गाईदान गरि श्रीको रथयात्रारम्भः हुने गर्दछ र कहिलेकाहिं अक्षयतृतीयामा पनि पर्नसक्छ ।
३. त्यस्तै, बैशाखशुक्लपक्ष प्रतिपदातिथि देखि चतुर्थीतिथि वीच यदि कुनै तिथि टूट् वा क्षय भएमा सौर दिनगन्तीले तीनदिन भएता पनि रथारोहणको तिथि गणनाले चौंथोतिथि समाउने हुंदा चतुर्थीतिथिमा नै रथयात्रा हुन्छ र चारदिन भनेर तिथिगत पांचौतिथि अर्थात् पञ्चमीतिथिमा श्रीको रथयात्रा हुंदैन ।
४. श्रीरातोमत्स्येन्द्रनाथको पूजाविधि एवं कर्महरु तन्त्रोक्त विधिविधान अन्तर्गत चान्द्रतिथ्यानुसार तत्काल एवं कर्मकालव्यापिनीको आधारमा सूर्योदयदेखि प्रदोष रात्रीकालसम्म पनि हुने गर्दछ र रथयात्रा पनि तिथिपरक भएकोले सोही अनुसार श्रीको रथयात्रा हुने गर्दछ ।

(ख) श्रीमत्स्येन्द्रनाथ वारे पहिलेको पञ्चांग पात्रोहरुमा प्रकाशित अधिकमास र रथयात्रा सम्बन्धी विवरण –
१. अधिकमासमाः वि.सं. १९७२ को हस्तलिखित पञ्चांग पात्रोमा अधिकबैशाखशुक्ल प्रतिपदातिथिमा श्रीकरुणामय रथारोहण भई शुद्धबैशाख चतुर्थीतिथिमा रथयात्रारम्भः उल्लेखित भएको, तर छापा पात्रोमा यस वारे केही पनि उल्लेख छैन । वि.सं. १९९१ र २०१० को पञ्चांग पात्रोहरुमा अधिकबैशाखशुक्ल प्रतिपदातिथिमा रथारोहण उल्लेख नगरेर एकैचोटी शुद्धबैशाखशुक्ल प्रतिपदातिथिमा बुंगया भनी उल्लेख गरेको ठीक नभएको तर, चतुर्थीतिथिमा श्रीको रथयात्रा उल्लेख गरिएको भने ठीक छ ।
२. तृतीयातिथि टूट् (क्षय)माः  वि.सं. १९८५, १९८६ र २००४ बर्षहरुमा पनि तृतीयातिथि टूट् (क्षय) भई चतुर्थीतिथिमा नै श्रीमत्स्येन्द्रनाथको रथयात्रा भनी उल्लेख भएको छ ।
३. अधिकमास एवं तृतीयातिथि टूट् (क्षय)माः वि.सं. २०२९ सालको पञ्चांग पात्रोमा अधिकबैशाखशुक्लपक्ष प्रतिपदातिथिमा केहि पनि उल्लेख नगरी शुद्धबैशाखशुक्लपक्ष प्रतिपदातिथिमा बुंगया भनी उल्लेख भएको ठीक होइन । वि.सं. २०४८ सालको अधिक बैशाखशुक्लपक्ष प्रतिपदातिथिमा नै श्रीको रथारोहण भनी उल्लेख भएको भने ठीक छ । तर, ती बर्षहरुमा तृतीयातिथि टूट् (क्षय) भएर चतुर्थीतिथिमा श्रीको रथयात्रारम्भः हुनु पर्ने भनि छापिनु पर्नेमा पञ्चमीतिथिमा भनी उल्लेख भएको हुंदा वि.सं. २०२९ को हक्मा गुठी संस्थानबाट नै गोरखापत्रमा सूचना र स्पष्टीकरण समेत प्रकाशन भएर चतुर्थीतिथिमा नै श्रीको रथयात्रा सम्पन्न भयो । त्यसरी नै, वि.सं. २०४८ मा पञ्चांग निर्णायक समिति एवं ल.पु. गुठी तहसिल तथा खर्च कार्यालयबाट निर्णयार्थ राय सल्लाहकोलागि छुटृाछुटैृ पत्राचार भई श्रीको सम्बन्धीत प्रमूख ज्योतिषी कीर्तिब्रह्मानन्द जोशीले स्पष्ट पारिए अनुसार नै श्रीको रथयात्रा चतुर्थीतिथिमा नै सम्पन्न भएको थियो ।
४. तिथि बृद्धिमाः वि.सं. १९८१ र २०४३ सालमा बैशाखशुक्लपक्ष व्दितीयातिथि बृद्धि हुंदा तथा २०१६ र २०१७ सालमा तृतीयातिथि बृद्धि हुंदा एवं २०५० सालमा प्रतिपदातिथि बृद्धि हुंदा समेत अक्षयतृतीया परचतुर्थीयातिथिमा नै श्रीको रथयात्रारम्भः भनी उल्लेख भएको छ ।
५. श्रीको प्रमूख ज्योतिषी कीर्तिब्रह्मानन्द जोशीको विमारी ताका वि.सं. २०५६ र २०५७ सालमा क्रमशः व्दितीया र तृतीया टूट् हुंदा र वि.सं. २०६६ र २०६७ सालमा क्रमशः तृतीया र व्दितीया टूट् हुंदा पनि के गर्ने भनेर हामीसंग कुनै राय सल्लाह नलिई आफुखुसी चारदिनको नाम्मा पञ्चमीतिथिमा श्रीको रथयात्रारम्भः भनी पञ्चांग पात्रोमा छापिनु गल्ती भएकोले नै वि.सं. २०६७ को नेपालपञ्चांग(पत्रमा समेत सो सुधारेर सूचना सहित छापिइ वितरण भएको थियो ।

(ग) श्रीकरुणामय रातोमत्स्येन्द्रनाथको रथारोहण र रथयात्रा सम्बन्धी प्रकाशित पुस्तकहरुमा प्राप्त विवरण –
१. श्रीरातोमत्स्येन्द्रनाथसंग सम्बन्धित ललितपुरको श्रीहिरण्यवर्ण महाविहारका थकाली विद्वान गुरुभाजु बयोवृद्ध तन्त्रज्ञ एवं ज्योतिषी कविराज पं. श्री रत्नराज बज्राचार्यव्दारा नेपालभाषामा लिखित श्रीकरुणामय रथयात्रा सम्बन्धी ने.सं. १०९९ (वि.सं. २०३६) मा प्रकाशित पुस्तकमा करीव १०० बर्ष अघिदेखिका श्रीको रथयात्रा सम्बन्धि बंशाबली अनुसारको विवरणमा पनि श्रीको बर्षेनी वा बाह्रःबर्षमा हुने रथयात्रारम्भः कहिल्यै पनि पञ्चमीतिथिमा भएको पाइएन र संधै चतुर्थीतिथिमा नै रथयात्रा भएको पाइन्छ । साथै, ने.सं. १०१७ मा बैशाखशुक्ल प्रतिपदातिथिमा रथारोहण भई अक्षयतृतीयापर चतुर्थीतिथिमा गाःबहालजात्रा भएको र ने.सं. १०३० मा बैशाखशुक्ल प्रतिपदामा रथारोहण भै तृतीया टूट् भएकोले व्दितीयातिथिमा नै गौदान गरी चतुर्थीतिथिमा गाःबहालजात्रा सम्पन्न भएको उल्लेखित छ ।
२. बयोवृद्ध विद्वान पण्डित तन्त्रज्ञ श्री आशाकाजी बज्राचार्य (अं. बर्ष ८८ मा स्वर्गे)व्दारा नेपालभाषामा लिखित नेपालबर्ष क्रिया नखःचखः सम्बन्धी ने.सं. ११०७ (वि.सं. २०४४) मा प्रकाशित पुस्तकमा पनि बैशाखशुक्ल प्रतिपदातिथिमा रथारोहण भई चतुर्थीतिथिमा रथयात्रारम्भः भन्ने उल्लेख भएको छ ।
३. विद्वान श्री कुलचन्द्र कोइरालाव्दारा नेपालीभाषामा लिखित वि.सं. २०५२ सालमा प्रकाशित श्रीमत्स्येन्द्रनाथ सम्बन्धी खोजपूर्ण विशेष पुस्तकमा पनि अक्षयतृतीयामा गौदान पर्व सकी त्यही दिन वा भोलिपल्ट चौंथीको दिन रथ तान्ने कार्य गरिन्छ भन्ने उल्लेख छ ।

(घ) तिथिको विचार गर्नु नपर्ने ( श्रीको रथ जावलाखेल पुगेको चार दिनमा देखाइने भोटो जात्रा र बुंगःमती पुगेको चार दिनमा हुने विचाःपूजा चान्द्रय् तिथि दिनानुसार चार दिनमा नै हुने हुन्छन् र यसमा तिथिको विचार गर्नु पर्दैन, किनभने साइत हेरेर चान्द्र तिथि अनुसार थःतिबाट तानिने श्रीको रथ कहिले जावलाखेल पुग्ने हुन्छ सो अग्रिम थाहा नहुने भएकोले चान्दय् तिथि दिनानुसार यी पर्वहरु मनाइन्छन्, सौर गते दिनानुसार होइनन् ।

(ड०) ल.पु. प्र.जि.अ. कार्यालयमा भएको श्रीकरुणामयसंग सम्बन्धित प्रत्यक्ष सरोकारवालाहरुको सर्वपक्षीय निर्णयः श्रीरातोमत्स्येन्द्रनाथसंग सम्बन्धित प्रमूख ज्योतिषीसंग कुनै सोधपूछ, सरसल्लाह र सम्पर्क विना नै काहिलेकाहीं श्रीको रथारोहण वा रथयात्रारम्भः तय गरेर पात्रोमा छापिनुका कारण गलतफहमीमा परी विगतका एकाध वर्षका पञ्चांग पात्रोहरुमा भ्रमपूर्वक श्रीको पर्वहरु गलत तिथिमा छापिनुका साथै रथारोहणको चारदिन भनेर पञ्चमीतिथिमा समेत श्रीको रथयात्रारम्भः भनी छापिने गरेको र वि.सं. २०६७ को केहि पञ्चांग पात्रोमा पनि पञ्चमीतिथिमा रथयात्रा भनि छापिएको कारण भ्रम निवारणार्थ तत्काल एवं भविष्यमा समेत सुधार हुने गरी धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक परम्परागत मान्यतालाई कायम् गर्न प्रमूख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा गुठी संस्थान केन्द्र र ललितपुर कार्यालय लगायत श्रीरातोमत्स्येन्द्रनाथको रथयात्रासंग सम्बन्धित ललितपुरका सरोकारवाला सम्पूर्ण महानुभावहरु एवं विभिन्न निकाय र संघ संस्थाका प्रतिनिधिहरु तथा पञ्चांग निर्णायक समितिका प्रतिनिधि सदस्य सचिव समेतको रोहवरमा सर्वपक्षिय बैंठक सम्पन्न भई सो बैठकबाट श्रीको रथयात्रा पात्रोमा उल्लेखित रथारोहणको चार दिनमा हुने नभई चौंथीतिथिमा नै रथयात्रारम्भः गर्ने र पात्रोमा सो सुधार हुनुपर्ने सर्वसम्मत लिखित निर्णय एवं सहमति भई उक्त वर्ष श्रीको रथयात्रा शान्तिपुर्ण तरिकाले सम्पन्न भएको थियो । तर, उपरोक्तानुसार ल.पु.प्र.जि.अ. कार्यालयमा मिति २०६७।१।१० मा सर्वपक्षीय बैठकबाट भएको पात्रोमा सुधार हुनुपर्ने निर्णय विपरित गलतफहमीमा परेर तत्कालै मिति २०६७।१।१५ मा नेपाल पञ्चांग निर्णायक समितिको बैठक बसी श्रीमत्स्येन्द्रनाथको रथयात्रारम्भ रथारोहणको चारौंदिनमा गर्नुपर्ने र सच्याउनु नपर्ने निर्णय गरेर तालुकदार अडृा गुठी संस्थानको मिति २०६७।१।१२ को पत्रलाई समेत अवज्ञा गरिएको कारण पुनः मिति २०६७।१।२८ मा ल.पु. प्र.जि.अ. कार्यालयमा पुनःसर्वपक्षीय बैठक बसेर श्रीको रथयात्रा चतुर्थी तिथिमा नै गर्ने अर्को निर्णय र सहमति भईसक्दा समेत नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिवले गोरखापत्रमा सार्वजनिक प्रतिक्रिया प्रकाशन गराउंदै ३ दिनमा रथयात्रारम्भ भएको कुनै प्रमाण नदेखिंदा ४ दिनमा नै रथयात्रारम्भ हुने भएकोले चतुर्थीतिथिमा रथयात्रारम्भ गर्ने निर्णयमा समितिको कुनै संलग्नता नरहेको भनि नेपाल मण्डलको ऐतिहासिक परम्परागत धर्म संस्कृतिको जगेर्ना एवं जनभावना विपरित रथयात्रारम्भःमा अप्रत्यक्ष रुपमा भांजो हाल्ने प्रयास गरिएको भन्ने रहे भए तापनि चतुर्थीतिथिमा नै श्रीको रथयात्रा शुभारम्भः भई श्री रातोमत्स्येन्द्रनाथको २०६७ को जात्रा सम्पन्न भएको थियोैं ।

(च) अतएव, श्री रातोमत्स्येन्द्रनाथ करुणामय (बुंगद्यः)को तत्कालीन प्रमूख ज्योतिषी एवं तन्त्रज्ञ स्व. कीर्तिब्रह्मानन्द जोशीबाट प्राप्त निर्देशनको आधार निम्नानुसार छन् –
(१) अधिकबैशाख भएमा सोही अधिकबैशाखशुक्ल प्रतिपदातिथिको दिन रथारोहण गरी शुद्धबैशाखशुक्ल चतुर्थीतिथि वा तृतीयापर चतुर्थीतिथिमा पुल्चोक मन्दःपाटीबाट श्रीको रथयात्रा (तान्ने)र चतुर्थीतिथिमा नै श्रीमीननाथको रथारोहण पश्चात् नगर परिक्रमा गर्ने, गराउने ।
(२) बैशाखशुक्लपक्षमा तिथि बृद्धि भएमा पूर्वविद्धा चतुर्थीतिथि लिने र तिथि क्षय भएमा तृतीयापर चतुर्थीतिथिमा श्रीको रथयात्रा गर्ने, गराउने र कहिलेकाहिं अक्षयतृतीयाको दिनमा पनि पर्न सक्छ ।
(३) चतुर्थीतिथि नघाई पांचौतिथिमा अर्थात् पञ्चमीतिथिमा रथयात्रा नगर्ने, नगराउने । कथंकदाचित् बिघ्न बाधा भई यदि पञ्चमीतिथिमा रथयात्रा गर्नु, गराउनु परे सो भन्दा अघिल्लो तिथिमा अलिकति वा सांकेतिक रुपमा भएपनि श्रीको रथ तान्ने वा यात्रा गर्ने, गराउने ।
(४) श्रीको रथारोहण गरी घटिमा तिथि मानी तृतीयापर चतुर्थीतिथिमा र बढिमा अघिल्लो चतुर्थी तिथि मात्र लिने ।

 

ऐतिहासिक कथन तर्फः
देशमा बाह्रबर्षसम्म पानी नपरी सुखा हुंदा र अन्न पनि नउब्जदां करीव १५०० बर्षअघि श्रीविरञ्चीनारायण एवं शिव स्वरुपी लोकनाथ आर्यावलोकितेश्वर श्रीकरुणामय मत्स्येन्द्रनाथ (बुंगद्यः)लाई नेपालमण्डलमा आगमन गराईएको र करीव ४०० बर्षअघि देखि नै हाम्रा पूर्खाले श्रीको ज्योतिषीकार्य सम्बन्धीका विभिन्न कर्म, कृत्य सम्पन्न गर्ने गराउने अटूट् सेवा अद्यापीसम्म पनि निरन्तरता दिंदै आएका छौं । श्रीकरुणामयको आगमनका कारण नै देशमा जलवृष्टि र अन्न उब्जनी भई तिनैलोकको कल्याण भएकोले चान्द्रयतिथि अनुसार हाल बैशाखकृष्ण प्रतिपदातिथिमा श्रीको न्हवंः (महास्नान)बाट पन्ध्रदिनमा नै जनतालाई दर्शन दिने, जनावस्था बुझ्ने र दुःख मानी बसेकी आफ्ना यक्षणी आमा समेत दर्शन गर्ने हेतु बैंशाखशुक्ल प्रतिपदातिथिमा श्रीको रथारोहण अर्थात् रथमा विराजमान भए पश्चात् रथयात्रा शुरु गराई व्दितीयातिथिमा पुल्चोक मन्दपाटी निर पुर्याई तृतीयातिथिमा विधिवत् गौदान सहित शान्ति स्वस्ती पूजा सम्पन्न भएपछि बैशाखशुक्ल चतुर्थीतिथि अर्थात् प्रतिपदाबाट तिथिगत चौंथोतिथिमा श्रीको नगरयात्रा स्वरुप त्रिलोक भ्रमण गर्न गराउन श्रीजटाधारी मीननाथ (चुकबाहाद्यः)को अग्रसरतामा आफुपनि बैशाखशुक्ल चतुर्थीतिथिमा नै रथमा विराजमान अर्थात् रथारोहण भई पुल्चोकसम्म आई श्रीलोकेश्वर करुणामय (बुंगद्यः)लाई स्वागत सत्कार सहित त्रिलोक भ्रमणको निमित्त लिएर नगर सवारी हुन्छ र सो भ्रमण पूरा नहुन्जेल आफु पनि श्रीको संगसंगै यात्रामा संलग्न हुने गर्दछ । केहि ठूलो बिघ्न बाधा आई नपरेमा चतुर्थीतिथिमा नै श्रीको कूलदेवता रहेको स्थान गाःबहालमा भूःज्याः जात्रा सम्पन्न हुने गर्दछ र यो जात्रा तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यको नाम्मा समर्पित रहेकोले त्यसवेला कान्तिपुरका वासिन्दाले समेत श्रीको रथ तानी उक्त भूःज्याः जात्रा सम्पन्न गराई खुसियाली मनाउंथ्यो र यसलाई स्वर्गलोकको भ्रमणतुल्य लिईन्थ्यो । त्यस्तै, भक्तपुरका राजा नरेन्द्रदेवको नाम्मा मत्र्यलोकको भ्रमणतुल्य नुगः भूज्याः जात्रा सम्पन्न हुने गर्दछ र यस जात्राकोनिमित्त भक्तपुरका वासिन्दाले समेत श्रीको रथ तान्ने गरिन्थ्यो । त्यसरी नैे रथचक्र ललित कृषकको नाम्मा पाताललोकको भ्रमणतुल्य लग्नख्यः मूख्यः भूःज्याः जात्रा हुने गर्दछ र यस जात्राकोलागि ललितपुरका वासिन्दाले रथ तानिन्थ्यो र भूत बली पश्चात् भूज्याः जात्रा मनाई श्रीकरुणामयका यक्षणी आमा पनि दर्शन गरि जनता घर फर्कि खुसियाली मनाइ लग्नख्यः जात्रा सम्पन्न हुन्थ्यो । अन्तःमा ज्योतिषीले लग्न हेरिएको साइतमा नगर बाहिर रहेका सप्तग्रामका वासिन्दाले रथ तानी जाव्होलाख्यः स्थित वरिपरि पाटीहरु रही वीचमा सानो पोखरी सहितको खाल्डोमा पुर्याई श्रीको रक्षार्थ नागराज एवं चार भैरवलाई धन्यवाद दिने स्वरुप धःमा तःल्हय् पूजा समेत भई जाव्होलाख्यःजात्रा मानी भोटो देखाउने जात्रा समेत सम्पन्न हुने गर्दछ र सो पश्चात् श्रीकरुणामय बुंगमति फिर्ता सवारी हुन्छ भने श्रीमीननाथ चुकबहाःद्यः आफ्नो स्थानमा फर्किन्छ । यस पश्चात् श्रीयन्मान्तक भैरव मन्दिरहरुमा होम पूजा गरेर एक जोर माछा पोखरीमा छोड्ने र एक जोर भंगेरा आकाशमा उदाएर वर्षको जात्रा सम्पन्न भएको खबर इन्द्रलाई पठाउने गरिन्छन् ।

अन्तमा, यस वर्ष वि.सं. २०७५ सालको श्रीरातोमत्स्येन्द्रनाथको जात्रामा चतुर्थी तिथिमा रथयात्रारम्भ हुने नभै रथारोहणको दिन गन्तीले चार दिनमा रथयात्रा हुनु पर्दछ भनि जोशी समाजका बर्तमान तथा भूपू पदाधिकारीहरु बीस जवानले व्यक्तिगत रुपमा नेपाल पञ्चांग निर्णायक समितिमा मिति २०७४।१०।३ मा उजुरी निवेदन दिइंदा भएको २०७४।१०।५ को छलफलमा चार दिनमा रथ तान्ने भन्ने प्रमाण उजुरीकर्ता निवेदकहरुले दिन नसकेको र परम्परा शब्दको विवेचनात्मक व्याख्या पनि गर्न नसकेको तथा चतुर्थी तिथिमा रथयात्रा हुने यथेष्ट प्रमाण रहेको कारणले पनि नेपाल पञ्चांग निर्णायक समितिले चतुर्थीतिथिमा नै श्रीको रथयात्रा हुने निर्णय गरिएको थियो, तर नेपाल पञ्चांग निर्णायक समितिको स्वीकृति प्राप्त गरी प्रकाशन हुने सबै तेह्रवटा पात्रोहरुले समितिको निर्णय पालना गर्नुपर्ने जानकारी निर्देशन दिंदादिंदै र रातो मत्स्येन्द्रनाथ देवताको रथयात्रा विषय आफु पूर्णरुपमा सुसूचित हुंदाहुंदै पनि नियतवश पञ्चांगकार शशीधर जोशीले आफ्नो बंगलामुखी पञ्चांगमा श्रीरातोमत्स्येन्द्रनाथदेवताको रथयात्रा उल्लेख नगरेर समितिको निर्णय विपरित कार्य गरेको वा समितिको निर्णयलाई अस्वीकार गरिंदाको स्थितिले पनि सर्वसाधारणलाई भ्रममा पारेको रहेछ । साथै फागुनको तेस्रोसातामा पात्रोहरु प्रकाशन भइसकेको पर्याप्त समय बिताएर अन्तिम समयमा रथयात्रा शुरु हुने दिन रथमा सवार हुने सेसे ब्राह्मणहरुले पनि रथारोहणको चार दिनमा हुने श्रीको रथयात्रालाई चतुर्थीतिथिको नाम्मा तीन दिनमा ने रथयात्रा गराएको भन्ने बिषय उठान गरेको भन्ने कारण जताइ सर्वसाधारण जनतामा भ्रम छर्दै अघोषित रुपमा रथयात्रामा समावेश नभएर बहिष्कार गरिएको, तर पछि रथ सुन्धारामा पुग्दा भने सुटुक्क रथमा बस्न आएको घटना क्रम पनि अभिलेख लायक नै भएको मानिनु पर्दछ ।

दैवज्ञ कीर्तिमदन जोशी
श्रीरातोमत्स्येन्द्रनाथको प्रमूख ज्योतिषी खलक सदस्य
सदस्य, नेपाल पञ्चांग निर्णायक समिति
सदस्य, नेपाल संस्कृत विश्वविद्यालय, पञ्चांग निर्देशक समिति
मो. ९८४१७६९९०४, ईमेलः km_joshi@hotmail.com

 

यो पनि सुन्नुहोस् 

सेसे बाजे खलकको भुमिका बारेमा कुराकानी

तिथि विवादको सम्वन्धमा गरिएको कुराकानी

Facebook Comments
ब्यानर, लेख/विचार

One thought on “वि.सं. २०७५ वर्षको श्रीरातोमत्स्येन्द्रनाथ रथयात्रा सन्दर्भमा उठेका केही कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *