असार ९ – महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन। रानीपोखरी पुनर्निर्माणको नाममा झण्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, अहिलेसम्म पुनर्निर्माणको काम भने सुरू हुन सकेको छैन। संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदूरदर्शी निर्णयका कारण झण्डै ३ करोड रुपैयाँ नोक्सानी भएको छ। १८ महिना अघिदेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाइएको आधुनिक कंक्रिट पर्खाल भत्काइएको हो।

रानीपोखरीको बाहिरी घेरामा कंक्रिट वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ। आधुनिक शैलीमा बनाउँदा रानीपोखरीको पुरातात्विक  र परम्परागत पुरानो शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि सो पर्खाल भत्काइएको हो। पर्खाल भत्काउन र कंक्रिट हटाउन महानगरले १६ लाख रुपैयाँमा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले  ९५ प्रतिशत काम सकिएको बताएको छ।

रानीपोखरी पुनर्निर्माणका लागि महानगरपालिकाले वल्डवाइड कँडेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो। पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि सो कम्पनीले क्षतिपूर्तिको माग गर्दै महानगरपालिकाविरुद्ध मुद्धा दायर गरेको छ । सो मुद्धा अहिले पनि विचाराधीन छ। आधुनिक पर्खाल भत्काएर त्यसलाई सफा गर्ने काम केही दिन भित्र सम्पन्न भए पनि त्यसपछिको पुनर्निर्माण के कसरी गर्ने? भन्ने स्पष्ट नभएका कारण रानीपोखरीको पुनर्निर्माण कहिले भन्ने जिज्ञासा यथावत रहेको छ। जिम्मेवार निकायको अपरिपक्क र अदूरदर्शी निर्णयका कारण ठूलो रकम पानीमा गएको छ।

यसैबीच पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भने राणाकालीन शैलीमा पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको छ । यद्यपी मन्दिरको पुनर्निर्माणको काम पनि सन्तोषजनक ढंगले अघि बढ्न भने सकेको छैन। स्थानीयवासी र विज्ञले मल्लकालीन शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

सन्दर्भ रानीपोखरी पुनर्निर्माण

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *