साउन १९ – सभामुख कृष्ण वहादुर महराले ऐन कानून निर्माणको तहमा कारागारहरुको उचित व्यवस्थापन तथा सुधार र कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।  कारगारको सुधार एवं कैदीबन्दीहरुको अधिकार प्रवद्र्धन सम्बन्धमा एचआई नेपालले शनिबार काठमाडौमा आयोजना गरेको संघिय सांसदहरुसंगको अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले यस्तो बताउनुभएको हो । उहाँले सरकारले कारागार सुधार, कैदीबन्दीहरुको अधिकारका सवालमा ऐन कानुन बनाउन विधेयकहरु ल्याएमा त्यसलाई प्राथमिकता दिदै सकारात्मक परिणामका हुने जुनसुकै काममा पनि सहयोग गर्ने बताउनुभयो । राज्यले आफ्ना नागरिकहरुलाई सबै किसिमका सेवा सुविधाहरु सहजै उपलब्ध गराउने, सबै किसिमका असमानता, विभेद र अन्यायबाट मुक्त सबै सम्मान र स्वाभिमानपूर्वक बाँच्न पाउने समतामूलक समाजको कल्पनाबाट नै समृद्ध, शान्त र सभ्य समाज निर्माण हुने उहाँको भनाई छ । उहाँले कैदीबन्दीहरुको आचरण, व्यवहार र अपराधिक मनोवृत्तिलाई परिवर्तन गरी सकारात्मक सोंच चिन्तन र सीप क्षमताको अभिवृद्धि गर्न उचित ऐन नियमको आवश्यकता रहेको धारणा पनि राख्नुभयो । सभामुख महराले कारागार तथा कैदीबन्दीहरुसम्बन्धी ऐन नियमहरु समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्नी खरेलले कारागार सुधारका लागी कार्यदल बनेको भन्दै समायानुकल कारागार सुधारको काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले कारागारको क्षेत्रमा महिला र पुरुष कैदीबन्दीमाथि पनि भेदभाव देखिएको जानकारी दिनुभयो । देशभरिका ७४ वटा कारागारमा अहिले करिब २० हजार ९ सय कैदीवन्दी छन् । त्यस्तै एकसय ९५ क्षमताको बालसुधार गृहमा २ सय ५८ जना रहेका छन् । सुरक्षाको दृष्टिले संवेदनशील मानिएको क्षेत्रमा रहेका केहि कारागारको संरचना पुरानो भएकाले त्यसलाई सुधार गर्नुपर्ने देखिएको अध्ययनले देखाएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *