फागुन २ – सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको बर्षदिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक बर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । त्यसअघि प्रधानमन्त्री ओलीले बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाण्डूको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ । ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ । आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ । ओली नेतृत्वको सरकार गठन भएको भोलि एक वर्ष पुरा हुँदैछ । दुईतिहाईको सरकार गठन भएपनि काम भन्दा धेरै कुरामात्र भएको गुनासो बढ्दै गएको छ । यो एक वर्षमा सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ । बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन नसकेको हो । यसैगरी यो एक वर्षमा व्यापार घाटा बढेको छ भने नेपाललाई चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८५ अर्ब रुपैयाँ शोधान्तर घाटा भएको छ । तर विदेशी मुद्रा सञ्चितिको स्थिति भने उस्तै रहँदा वैदेशिक लगानी पनि घटेको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *