नसर्ने रोग घरघरको व्यथा, मुटु, क्यान्सर, दम, मधुमेहले गरिबी बढाउँदै

असोज २६ –  नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसीडी एलायन्सले विहिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले नसर्ने खालका रोगहरुबाट बच्ने तरिकाको व्यापक प्रचारप्रसार अभियान नचलाइँदा नसर्ने रोगका रुपमा रहेको मुटु, क्यान्सर, मधुमेह र दमले गरिबी वढाइरहेको बताएका थिए ।
सरकारले स्वास्थ्य बजेट विनियोजन गर्दा उपचारका लागि ८५ प्रतिशत र रोकथामका लागि १५ प्रतिशत व्यवस्थाले जनता रोगबारे लागिसकेपछि मात्र जानकारी भएको बताइएको थियो । अहिले नेपाल मुटुरोग, मधुमेह, क्यान्सर र स्वासप्रस्वाससम्वन्धि दीर्घ रोगजस्ता नसर्ने रोगले ग्रसित भएको बताइयो । कार्यक्रममा स्वास्थ्यविज्ञ डा.बाबुराम मरासिनीले मोटरसाइकल चढ्ने अनि जंकफुडका साथ जाँडरक्सी खाने प्रवृत्तिले गर्दा नेपालीमा नसर्ने रोग देखिएको जानकारी दिनु भयो । नसर्ने रोग कहिले पनि निको नहुने भएकाले यसतर्फ चनाखो हुनुपर्ने बताउँदै उहाँले समयमै होशियारी अपनाइ खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन सक्यो भने यो रोगबाट ग्रसित हुन नपर्ने बताउनु भयाे । प्रदुषणका कारण नेपालजस्तो विकासोन्मुख मुलुकमा देखिएको नसर्ने रोगले विस्तारै विकसित मुलुकसमेत आक्रान्त हुन थालेको जानकारी पनि उहाँले बताउनु भयाे ।
सुर्तीसेवन, मदिरापान, अस्वस्थकर खाना, शारीरीक निष्क्रियता र प्रदुषण नसर्ने रोगको कारक तत्व भएको र नेपालका गाउँघरमा बाल्ने परम्परागत धुँवाका कारणले पनि नसर्ने रोग गाउँसम्म फैलिएको डा.मरासिनीको कथन थियो ।
सरकारले धुँवामुक्त चुल्होका लागि दिने ४० हजार रुपैयाँ, विपन्न नागरिक उपचार कोषबाट मुटु र क्यान्सर रोगीलाई दिइने १ लाख रुपैयाँ पहुँचवालाको हातमा मात्र पुगेको पनि उहाँले बताउनु भयाे । नेपालमा पोषण अभियानअन्तर्गत पोषण निर्देशिकामा समाविष्ट हुनुपर्नेमा जोड दिंदै उहाँले आमसञ्चारका माध्यमबाट खाना कति र कसरी खाने विषयमा जनजागरण अभियान चलाउनुपर्ने आवश्यकताबोध गराउनु भयाे ।
सरकारले १ लिटर पेट्रोलियम पदार्थमा ५० पैसा संकलन गरी वायु प्रदुषणका लागि उल्लेखनीय काम नगरेको उहाँको आरोप रहेको छ । विकसित मुलुकमा शहरका बीच बीचमा घुम्नका लागि पार्कहरु हुने तर नेपालमा घुम्नयोग्य कुनै पनि पार्क नभएको उहाँको कथन थियो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनसीडी तथा मानसिक रोग विभागका प्रमुख फणिन्द्रप्रसाद बरालले नीतिगत रुपमा नेपाल कमजोर नभएको तर कार्यान्वयन पक्ष फितलो भएकाले नसर्ने रोगल सवै वर्गका जनतालाई सताइरहेको बताउनु भयाे । नसर्ने रोगका लागि बनेको सरकारी सयन्त्र निष्क्रिय रहेको बताउँदै उनले मुख्य सचिवको अध्यक्षतमा भएको उच्चस्तरीय समितिले वर्षको १ चोटी पनि वैठक बसाउन नसकेको जानकारी उहाँले दिनुभयाे । सरकारले समुदायस्तरमा पुगेर नसर्ने रोगको कार्यक्रम लान नसकेको र स्वास्थ्यमा नसर्ने रोगको फोकस कार्यक्रम नभएको जानकारी उनले दिए । मन्त्रालयमा नसर्ने रोग शाखाको निर्माणपछि १० ओटा जिल्लामा कार्यक्रम पुगेको र २ वर्षभित्र सवै जिल्लामा नसर्ने रोग सम्वन्धि पेन कार्यक्रम पु¥याउने जानकारी दिए ।
जनस्वास्थ्य विज्ञ डा.केदार बरालले नसर्ने रोगसम्वन्धि अहिले नीति जोगीको झोला जस्ते छरपस्ट रुपमा रहेकाले यसलाई एकीकृत रुपमा ल्याउनुपर्ने बताउनु भयाे ।
मुटुरोग विशेषज्ञ डा.प्रकाश राज रेग्मीले नसर्ने रोगमा पनि मुटुको रोग सवैभन्दा खतरनाक र प्राणघातक रुपमा आइरहेको जानकारी दिनु भयाे । नेपाल हार्ट फाउन्डेसनले ग्रामीण क्षेत्रमा गरेको एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको रिपोर्ट आएको जानकारी दिदै उहाँले कार्डिभास्कुलर डिजिज अर्थात मुटु रोगका गर्भवतीको मृत्यु भइरहेको दृष्टान्त पेश गर्नु भयाे । गुल्मीको तम्घासमा विपन्नको सिफारिस माग्दा ५ हजार घुस मागेको घट्ना आफूहरुसँग रहेको र विपन्नको नाममा धनीले फाइदा उठाइरहेको उहाँले बताउनु भयाे । मुटुका अत्यावश्यक औषधी पनि सरकारले उपलव्ध नगराएको र औषधी व्यवस्था विभागले औषधी बजारमा उपलव्ध गराउन अप्ठ्यारो पारिरहेको पनि उहाँले जानकारी दिनु भयाे ।
मधुमेह रोग विशेषज्ञ डा.प्रदिप कृष्ण श्रेष्ठले नेपालीहरुको पेटमा सेतो बोसोको मात्रा वढेका कारण इन्सुलिनले काम गर्न छाडेको र मधुमेह देख्न थालेको बताउनु भयाे । कुपोषणका कारण प्याँक्रियाज वढ्न नसक्दा गरीबलाई पनि मधुमेहले नछोड्ने उहाँले जानकारी दिनु भयाे । पेट ठूलो हुँदा इन्सुलिनले काम गर्न नसकेपछि बिटा सेल मर्दै जाने र बिटासेल मरेपछि सुगर वढ्न थाल्ने उहाँको कथन छ ।
वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद् किशोर प्रधानाङ्गले नेपालमा १ लाखको हाराहारीमा क्यान्सर रोगीले उपचार गरिरहेको र महिलामा वढी क्यान्सर वढी देखिएको बताउनु भयाे ।
विपन्नलाई १ लाख सहयोग दिंदैमा केही नहुने भएकाले ५ लाख पुर्याउनुपर्ने माग उहाँले गर्नु भयाे। विहार र चेन्नइमा जस्तै नेपालमा पनि सुर्ती, पान मसला सवै प्रतिवन्ध गर्नुपर्ने पनि उहाँले माग राख्नु भएकाे थियो ।
आयुर्वेद चिकित्सक डा.सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके कुनै पनि प्रकारको नसर्ने रोग नलाग्ने बताउनु भयाे ।
जनस्वास्थ्य अभियन्ता प्रा.डा.शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग वढेको नभइ नसर्ने रोगको संख्या वढेको जानकारी दिनु भयाे । यसलाई ख्याल गर्न नगरीकन नीति बनाइयो भने झन खतरा हुने बताउँदै नसर्ने रोगका लागि अन्तराष्ट्रिय स्तरमा नै पैरवी गर्नुपर्ने बतानु भयाे ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले अल्कोहोल पोलिसीमा ७५ प्रतिशत शिशीमा खतराजन्य चित्र राख्नुपर्ने बताउनु भयाे ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *