भाद्र २८ – काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्नेबारे चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसनले काठमाडौं र ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेको छ ।बिहीबार काठमाडौंमा काठमाडौं र ललितपुर महानगरका मेयरद्वय विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलाई सिआरसिसीका महाप्रबन्धक झाउ सिआओले रेल निर्माणसम्बन्धी प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा १ खर्ब १६ अर्ब लागत अनुमान गरिएको छ भने मोनोरेलका लागि आवश्यक संरचना तयार गर्न ३ वर्ष लाग्ने उल्लेख छ । तीन चरणमा निर्माण गर्नेगरी सम्झौता गर्दा उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विज्ञहरुसँग थप छलफल गरी अबको एक महिनामा उक्त कम्पनीलाई आवश्यक पूर्वाधारसहित मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन स्वीकृति दिइने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अबको ३ वर्षभित्रै चक्रपथमा मोनोरेल सञ्चालन हुने दाबी गर्नुभयो ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलव ५ किलो मिटरमा २१ स्थानमा यात्रु चढाउने, ओराल्ने स्टेशन रहने गरी मोनोरेल सञ्चालन हुने छ । जसलाई कोटेश्वर–कलङ्की, कलङ्की–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा निर्माण गरिने बताईएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *