मेलम्चीको पानी दशै अघि काठमाडौ नआउने निश्चित

भाद्र ४-  मेलम्चीको पानी दशै अघि काठमाडौ नआउने निश्चित भएको छ । आउँदो असोज २६ गते मेलम्चीको पानी सुरुङबाट सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने लक्षका साथ काम भइरहेको दाबी गर्दै आएपनि सुरुङको अन्तिम सजावट अर्थात फिनिसिङको काम सक्न अझै कम्तिमा ३ महिना लाग्ने भएपछि मेलम्चीको पानी दशै अघि नआउने निश्चित भएको हो । सरकारले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीको कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग असोजसम्ममा काम सक्ने गरि समय थप गरेपनि त्यो अवधिमा पनि काम नसकिने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सकिएपछि तीन महिना काम रोकिएका कारण सुरुङको फिनिसिङको काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो । डेढ महिनादेखि काम शुरु भएको र तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय लाग्ने उहाँले भन्नुभयो । आयोजनाको २७ किलोमिटर सुरुङमध्ये अहिलेसम्म ९ दशमलब ४ किलोमिटर सुरुङमा मात्र अन्तिम सजावट सम्पन्न भएको छ । बाँकी १८ किलोमिटर सुरुङको काम सक्न तीन महिना लाग्छ । मेलम्ची आयोजना सम्पन्न गर्न ३१ अर्ब रुपैया खर्च हुने अनुमान गरिएकोमा अहिलेसम्म २५ अर्ब २० करोड रुपैया खर्च भइसकेको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ९० प्रतिशत भएको कार्यकारी निर्देशक कँडेलले जानकारी दिनुभयो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *