जेठ ११, ललितपुर – हुनत रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भइसकेको छ । तर रथजात्राको एउटा पाटो रथ भने बाँकी नै छ , त्यो हो जात्रा राम्ररी सम्पन्न भयो भन्ने सन्देश पठाउने काम । जात्रा सम्पन्न भएको सन्देश परापूर्वकाल देखि नै स्वर्ग लोक र पाताल लोकमा पठाउने गरिन्छ । स्वर्गलोकमा सन्देश पठाउनको लागि एक जोडी परेवा आकाशमा उडाइन्छ भने पाताललोकमा रहेका कर्कोटक नागराजलार्इ सन्देश दिनको लागि पोखरीमा एक जोडी माछा छोडिन्छ । यसरी गर्ने धार्मिक गतिविधिलार्इ मांसाहुति यज्ञ भनिन्छ । यसवर्ष आउँदो जेठ १९ गते मांसाहुति यज्ञ गरिने तय भएको छ। यो यज्ञ लगनखेलको बटुक भैरव मन्दिर परिसरमा गरिन्छ ।

परेवा छोडनको लागि खासै समस्या छैन तर माछा पोखरीमा छोड्नको लागि भने ठूलै समस्या छ । किनभने जुन पोखरीमा माछा छोडिनु पर्ने हो त्यहाँ पानीको साटो फोहोर मात्रै छ । त्यसैले यो धार्मिक काम सम्पन्न गर्नको लागि स्थानीयबासिन्दाले ट्याङ्करमा पानी किनेर खाल्डो खनेर एक दिनको लागि भए पनि कृत्रिम पोखरी बनाउन्छन् । त्यहि नै माछा छोडेर कर्कोटक राजालार्इ सन्देश पठाउँदै आएको धेरै वर्ष  भइसकेको छ ।

समस्या यति मात्र होइन , त्यो भन्दा पनि ठूलो समस्या छ  जुन विगत १४ वर्षदेखि उनीहरूले झेल्दै आएका छन् । कुनै बेला पाटनको भित्री शहरको इनार, पोखरी, ढुङ्गे धारा लगायतलार्इ लागि पानी रीचार्ज सेन्टरको रूपमा रहेको सप्तपाताल पोखरीलार्इ पोखरीको रूप कायम गर्नको लागि उनीहरू लागि परेका छन् ।

पोखरी अतिक्रमण बन्द गराउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हाले देखि अहिलसम्म पनि उनीहरू यस काममा लागिरहेका छन्। एकचोटि मुद्दा जिते पनि अतिक्रमण नरोकिएपछि उनीहरूले दोस्रो रिट हाले । मुद्दाको पेसी गएको जेठ ८ गते भए पनि त्यस दिन सुनुवाइ भने भएन।

यो जग्गा सरकारी स्कुल , नमूना मच्छिन्द्र माध्यमिक विद्यालयले ओगटेको छ। जबकि, त्यहाँ नमूना मच्छिन्द्र आवासीय विद्यालयका नाउँमा निजी स्कुल पनि सञ्चालनमा  छ। ललित क्याम्पस र सडकछेउका टहरा साना होटलहरूलाई भाडामा दिइएको छ। त्यसको बहाल नमूना मच्छिन्द्र माध्यमिक विद्यालयले लिइरहेको छ।

मुद्दा विचाराधिन अवस्थामा भए पनि विडम्वना, उक्त क्षेत्रमा भवन निर्माणको लागि ललितपुर महानगरपालिकाले नक्सा पास गरेको छ ।२०६० सालमा विद्यालयले डिपार्टमेन्ट स्टोर बनाउन खोजेपछि जुर्मुराएका स्थानीय बासिन्दा फेरी विद्यालयले भवन बनाउनको लागि नक्सा पास गरेपछि उठेका छन् । पोखरीले चर्चेको सार्वजनिक जग्गामा नमूना मच्छिन्द्र माध्यमिक विद्यालयले भवन निर्माण गरेर पसल राख्न लागेको विरोधमा  स्थानीय बासिन्दाले महानगपालिकामा निवेदन दिन पुगे । निवेदन पछि महानगपालिकाका मेयर चिरी बाबु महर्जनले उक्त ठाँउमा कुनै पनि संरचना निर्माण नगर्नको लागि लिखित निर्देशन दिनु भयो ।

२ सय ५ रोपनीभन्दा धेरै क्षेत्र आगटेको सप्तपाताल पोखरी समयको कालचक्रसँग सँगै अतिक्रमित भएर पछि १४ रोपनी १० आना २ पैसा मात्र सिमित हुन पुगेकोमा अहिले यसको क्षत्रफल झन घटेको छ । नमूना मच्छिन्द्र स्कुल , सेनाको राजदल गण ब्यारेक, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय ललितपुर, जिल्ला पशुसेवा कार्यालय लगायत विभिन्न सरकारी कार्यालयले  सप्तपाताल पोखरीको जग्गा मिचेको सप्तपाताल पोखरी पुनः निर्माण समितिका अध्यक्ष स्थानीय पूर्ण स्थापित बताउनु हुन्छ ।

अहिले एकातिर स्थानीय महानगरपालिका धाइरहेका छन् भने अर्कोतिर १९ गतेको लागि तयारीमा जुटिरहेका छन् । यसपाली सबै क्षेत्रका प्रतिनिधिको सहभागीतामा बृहत रूपमा रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भयो भन्ने सन्देश दिनको लागि गरिने मांसाहुति यज्ञ गर्नको लागि उनीहरू जुटिरहेका छन् ।

– सिल्भिया राजोपाध्याय्
(उज्यालो रेडियो नेटवर्क र नेपालमण्डल टेलिभिजनको लागि सप्तपाताल पोखरी पुनःनिमार्ण समितिका अध्यक्ष पुर्ण स्थापित र कोषाध्यक्ष पू्र्ण भक्त चित्रकारसँग गरिएको कुराकानीमा आधारित)

Facebook Comments
लेख/विचार, सम्पदा / संस्कृति

2 thoughts on “ट्याङ्करमा पानी किनेर कृत्रिम पोखरी बनाएर यसपाली पनि माछा छोडिनेछ: सन्दर्भ सप्तपाताल पोखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *