मोबाइलमा फसेको हुस्सु जिन्दगी

मानव जीवन मोबाइलबिना अपुरोजस्तै भएको छ । यो मेरो मात्र होइन हामीजस्ता सारा मानव प्राणीले महसुस गरेको यथार्थ हो । आजकल हाम्रो दिनको सुरुवात मोबाइलबाट हुन्छ भने अन्त्य पनि यसैबाट नै हुन्छ । प्रविधिले यति धेरै सुविधा दियो कि मानिस र मोबाइलबिचको मायाप्रिति निकै गहिरो भइसकेको छ । विश्वमा हरेक दिन भइरहेका नयाँ–नयाँ आविष्कार र सर्वसुलभ रूपमा उपलब्ध इन्टरनेट सुविधाले हामी अर्थात् मानिस अर्थात् समाजका सबैभन्दा चेतनशील प्राणी मोबाइलको मोहजालमा फस्दै गइरहेका छौँ ।

आजको दिनमा हातमा एउटा स्मार्टफोन भएन भने मान्छेको जुनी लिएको पनि व्यर्थ जान्छ भन्ने सोचिन्छ । यस्तो सोचाइ पनि स्वभाविक नै हो किनभने आजको यो समयमा राजादेखि रङ्क सबैको हातमा एउटा मोबाइल त अवश्य हुन्छ नै । ठूल्ठूला व्यापारीले आफ्नो व्यापारिक तथा व्यावसायिक कार्य सम्पन्न गर्नदेखि लिएर साधारण व्यक्तिले आफ्नो पेसा सम्हाल्नको लागि यही मोबाइल फोनको भरपूर उपयोग गर्दै आएका छन् । मोबाइल र इन्टरनेटबिना आजको जीवन के जीवन ?

हामी बिहान उठ्छौँ । निद्रादेवीको काखबाट आफूलाई अलग गर्नको लागि सुरुमा मोबाइलमा घडी हेर्छौ अनि मात्र उठ्ने मेसो गर्छौँ । रातभरि साथीसँग फेसबुकको गुनगान गर्दै थाकेको शरीरले बिहान सबेरै उठ्न मान्दैन । यसबिचमा निद्रादेवीलाई पनि मोबाइलको घडीले आफ्नो रफ्तार तीव्र बनाइदेओस भन्ने लाग्दो हो ।

मोबाइलको अर्लामसँगै उठेको हाम्रो दिमागले फेरि नयाँ समाचारको लागि मोबाइल नै खोज्न थाल्छ । आजकल एफ.एम., रेडियो, अनलाइन समाचारको कारण पत्रिका पढ्नेको जमात त्यति बाक्लो देखिँदैन । बिहानको ताजा चियाको चुस्कीसँगै देशभरिको हालखबर बुझ्न वाइफाइ नामक मितलाई मोबाइलसँग मितेरी गाँस्न लगाउँछौँ र विभिन्न अनलाइन खबरहरू हेर्न र पढ्न थाल्छौँ । हुन त यो एउटा सानो बाकस हो तर यसमा सारा संसार अडेको छ अथवा अड्याइएको छ भन्न सकिन्छ ।

अर्कोतर्फ भान्छामा गृहिणी छिनछिनमा मोबाइलसँग मितेरी गाँस्दै बिहानको खाना तयार गर्न व्यस्त रहन्छिन् । कामको व्यस्तताका बाबजुद पनि आफ्नो साथीभाइ, इष्टमित्रसँग सुटुक्क मित्रता साट्न उनीहरू सफल हुन्छन् । तर, कहिलेकाहीँ यति धेरै कुराकानीमा मग्न हुन्छन् कि भान्छाभरि तरकारी डढेको धुवाँ फैलिसकेपछि मात्र आफू भान्छामा भएको थाहा पाउँछन् । धन्न वैज्ञानिकहरूले बुद्धि पु¥याएर विभिन्न यन्त्रको आविष्कार गरिदिएका छन् र आजकलका गृहिणीलाई निकै राहत मिलेको छ नत्र त धुवाँसँग जुहारी खेल्दैमा बिहानको समय जान्थ्यो र समयसँगै आफ्नो अमूल्य हाँसो पनि धुवाँलाई नै बन्धकी दिनुप¥थ्यो ।
आजकल बालबच्चा तथा किशोर वर्ग पनि मोबाइलमै व्यस्त रहन्छन् किनभने उनीहरूको लागि महत्वपूर्ण सामग्री र मनोरञ्जनको एक मात्र स्रोत भनेकै यही मोबाइल नै हो भन्ने गरिन्छ तर उनीहरूलाई मोबाइलमा भएको ज्ञानवद्र्धक सामग्रीभन्दा गेम अर्थात् खेलकुद नै निकै प्रिय हुन्छ र दिनभरि त्यसमै अड्किन्छन् । त्यस्तै विद्यार्थीहरूको लागि यो अचूक मन्त्र नै साबित भएको छ । कक्षामा शिक्षकले भन्नुभएको कुरा केही बुझिएन भने त्यसलाई रेकर्ड गरेर घरको कक्षाको लागि सुरक्षित गर्न सकिन्छ । तर, उनीहरू दुःखी त त्यतिबेला हुनुपर्ने हुन्छ जब कुनै प्राविधिक गडबडीका कारण कक्षामा गरेको पूरै रेकर्ड शून्यमा झरिदिन्छ ।

आफ्नो जीवनको अमूल्य पललाई क्यामरामा कैद गर्न सबैलाई मनपर्छ । यसको सजिलो माध्यम मोबाइलबाहेक अरु के नै हुनसक्ला र ? हो यसकै सदुपयोग गरी हामी आफ्नो जीवनका ती अविस्मरणीय क्षणहरूलाई कैद गर्न व्यस्त हुन्छौँ । तर, दुःखको कुरा के छ भने उक्त तस्बीरहरू सही ठाउँमा सेभ (सुरक्षित) गर्न बिर्सिन्छौँ र आफ्नो अविस्मरणीय क्षणको तस्बीर हराएकोमा दुःख मनाउ गर्छौँ । अनि यही मोबाइललाई नै नानाथरी गालीका शब्दहरू बर्साउँछौँ । तर, मोबाइल यन्त्र न प¥यो उसलाई यसबाट केही फरक पर्नेवाला छैन ।

हुन त गल्ती मोबाइलको होइन, गल्ती मान्छे अर्थात् हाम्रै हो । हामीले आफ्नो दैनिकी सजिलोको लागि मोबाइललगायतका अन्य यन्त्रहरूको आविष्कार गर्यौँ । आफ्नो दिमागी बोझ कम गर्न यस्ता साधनहरूको प्रयोग ग¥यौँ । तर, यसलाई आवश्यकताअनुसार सही ढङ्गबाट नचलाईकन हामी बढी नै चञ्चल भइदिन्छौँ । फलस्वरूप काम त बिग्रिन्छ नै अर्कोतिर हामी आफैँलाई भित्रदेखि नै हुस्सु बनाइरहेका हुन्छौँ । धेरै ठाउँमा मोबाइललगायतका यन्त्रले काम गरे पनि मुख्य ठाउँमा आफ्नै दिमाग चलाउनु राम्रो हुन्छ । मोबाइलले हामीलाई चलाउने होइन हामीले मोबाइललाई चलाउने हो तर अहिलेको अवस्था हेर्दा लाग्छ मोबाइलले नै हामीलाई चलाइरहेको छ ।

मोबाइल भन्ने चिज पनि निकै अचम्मको छ । यसले मानव जीवनलाई निकै नै सजिलो बनाइदिएको छ । बिहान उठेदेखि बेलुका नसुतेसम्म मोबाइल अत्यावश्यक वस्तु भइसकेको छ । बरु हामी खानाबिना बस्न सक्छौँ तर मोबाइलबिना बस्न सक्दैनौँ । विवेकी प्राणी भने पनि हाम्रो विवेकलाई मोबाइलजस्ता यन्त्रहरूले नियन्त्रण गर्न थालेको अवस्था अहिले देखिन्छ । त्यसैले त हामी विस्तारै विवेकशीलबाट हुस्सुशील प्राणीमा परिणत हुँदैछौँ । हामी आफू विवेकशील बन्ने कि हुस्सुशील बन्ने, यो निर्णय हाम्रो आफ्नै हातमा छ …………… ।

लक्ष्मीलोचना वैद्य
भक्तपुर

Facebook Comments
ब्यानर, लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *