साउन २१ – काठमाण्डौं महानगरपालिका वडा नं. ३२ काँडाघारी टाउँन प्लानिङ्गबाट अपहरण गरि भक्तपुरको मध्यपुर थिमिमा ल्याईएका बालकको अपहरणकारीले हत्या गरेका छन् । बालक अपहरण गरि हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको प्रहरीले जनाएको छ । महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसंगको दोहोरो भिडन्तमा अपहरणकारी नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ्ग र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ्गको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभई हाल टाउँन प्लानिङ्गमा बालकको आमा चमेली खड्काले संचालन गरेको खाजा पसलबाट हिजो आईतबार साँझ ६ बजे अपहरणमा परेका ११ बर्षका बालक निशान खड्काको अपहरणकारीले हत्या गरि गाडेको अबस्थामा प्रहरीले शव फेला पारेको छ । प्रहरीले मध्यपुरथिमि नगरपालिका ७ नगदेश बुद्ध बिहारको तल एक निर्माणधिन घरको हिलोमा तीन फिट तल गाडेको अबस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकको मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाधेको अबस्थामा दिउँसो १२ बजे शव भेटिएको हो । प्रहरीका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाए लगत्तै घट्नामा खटिएका महाशाखाका पाँचवटा टोली सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रीत भएर खोजी कार्य गरेको थियो । अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाईलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसंग जम्का भेट भएपछि दोहोरो भिडन्त भएको हो । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । हत्या गरिएका बालक टाउँन प्लानिङ्ग स्थित हाईल्याण्ड सेकेण्डरी स्कुलमा कक्षामा कक्षा ६ मा अध्ययनरत थिए । प्रहरीले घट्नाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *