तिहार शुरु, आज काग तिहार

कार्तिक १९ – यसबर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार, चन्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो आज काग तिहार । यसदिन कागलाई मीठा खानेकुरा दिएर पूजा गरेमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि काठमाडौंको कागेश्वरी महादेव मन्दिरमा कागलाई महादेवको प्रतिनिधिका रुपमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । भोली कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । यस्तै, पर्सी बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । परम्पराअनुसार किसान र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउँसी खेलिन्छ । तिहारको मुख्य दिन २३ गते शुक्रबार दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *