कूल व्यापारमा निकासीको मात्रा पुगनपुग ६ प्रतिशत

पुस १७ – सय रुपैयाको ब्यापार हुँदा नेपालले छ रुपैयाँ बराबरको सामान मात्र विदेश पठाउने गरेको छ भने ९४ रुपैयाको सामान विदेशबाट ल्याउने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षका पाँच महीनाको तथ्याङ्कले कूल व्यापारमा निकासीको मात्रा पुगनपुग ६ प्रतिशत मात्र रहेको देखाएको हो । यो अवधिमा कूल वैदेशिक व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ३२ दशमलव तीन प्रतिशतले बढेर छ खर्ब ४४ अर्ब ५० करोड रुपैया पुगेको छ । पाँच महीनामा कूल निर्यात १२ दशमलव तीन प्रतिशतले बढेर ३७ अर्ब ५० करोड हुँदा आयात भने ३३ दशमलव आठ प्रतिशतले बढेर छ खर्ब सात अर्ब रुपैया पुगेको छ । आव २०७४/७५ को पाँच महीनाको अवधिमा निर्यात र आयात व्यापारको अनुपातमा समेत उच्च वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको मात्रा बढेका कारण देशको व्यापार घाटासमेत बढ्दै गएको केन्द्र्रले जनाएको छ । कृषिप्रधान देश भएपनि कृषिजन्य वस्तुको आयात यस अवधिमा झण्डै १४ प्रतिशतले बढेको छ । यस्तै, समीक्षा अवधिमा कृषिजन्य वस्तुको निर्यातमा २६ प्रतिशत बढेर ११ अर्ब ४४ करोड रुपैया पुगेको छ । परम्परागत रुपमा निकासी भई रहेका गैरकृषिजन्य वस्तु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुको निकासी उल्लेख्य वृद्धि भएकोले मुलुकको समग्र निर्यातमा सुधार देखिएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *