नेपालमा दीपंकर बुद्ध

बौद्ध ग्रन्थहरुमा विभिन्न युगमा धेरै बुद्धहरु प्रादुर्भाव भएको कुरा उल्लेख भएको पाइन्छ । ती बुद्धहरु मध्ये दीपंकर बुद्ध पनि एक हो । बुद्ध वंशमा दीपंकर बुद्धको जीवनी बारे उल्लेख भएको पाइन्छ । बुद्ध वंश अनुसार सत्ययुगमा उत्तरा नक्षत्र रम्मवती नगरका राजा सुदेव क्षेत्री र रानी सुमेधाको पुत्र दीपंकर हो । राजा सुदेवले राजकुमार दीपंकरलाई तरुण अवस्थामा क्रृतु अनुसारको हंसा, कौञ्ञचा र मयुरा दरवारहरु बनाई दिए । राजकुमार दीपंकरको पद्मासंग विवाह भयो र एक पुत्र उपभसन्ध छोराको जन्म भयो । ग्रन्थमा दीपंकर बुद्धले एक हजार वर्षसम्म गृहस्थी जीवन बिताएको बारे उल्लेख भएको पाइन्छ । तर यस कुरालाई सही मान्न गाह्रो छ । गृहस्थी जीवन बिताइरहँदा बुढो, रोगी, मृतक र भिक्षु देखेपछि जीवनबाट विरक्त भएर घोडा चढेर अभिनिष्क्रमण गरेर एक बगैंचामा गए । त्यस बगैंचामा दीपंकर विरक्त भइरहेको समयमा ब्रम्हलोकबाट ब्रम्हा आएर दीपंकरलाई वस्त्र सहित अष्ट परिष्कार दान दिए । दान प्राप्त गरेपछि कपाल काटेर फ्याँके । सोही फ्याँकेको कपाल इन्द्रले थापी त्रायतिंस देवलोकमा एक मुकुटचैत्यमा कपाल राखी केश धातु चैत्य बनाए । चीवर वस्त्र लगाएपछि राजषी वस्त्र आकाशमा फाल्दा ब्रम्हाले लिएर सुद्धावास भुवनमा वस्त्र गर्भमा राखेर चैत्य बनाए । दीपंकरले त्यागी वस्त्र लगाएपछि दश लाख आफन्तहरु पनि त्यागी भए । सो बगैंचामा दश महिनासम्म ध्यानमा तल्लीन भए । एक दिन पात्र धारण गरी भिक्षाटन गरिरहँदा केही व्यक्तिले पकाइराखेको क्षीर दीपंकर लगायत सबै त्यागीहरुलाई दान दिए । सो क्षीर भोजन गरिसकेपछि सूर्यास्तको समयमा दीपंकर अरु त्यागीहरुलाई छाडेर एक्लै जंगलतिर प्रवेश गरे । त्यसबेला सुनन्द आजीवकले आठ मुठा घाँस दान दिए र पिपलको रुखमुनि विछ्याई रगत, मासु, हाड सुकेर गएपनि बुद्धत्व प्राप्त नहुञ्जेलसम्म नउठ्ने प्रतिज्ञा गरेर ध्यानमा तल्लीन भए । त्यसबेला आएका विभिन्न मारहरुलाई पराजित गरेर बोधिज्ञान प्राप्त गरेर सम्यक सम्बुद्ध भए । दीपंकर बुद्ध भएपछि नब्बेकोटी मानिसहरु र नब्बे हजार कोटी देवताहरुलाई धर्मदेशना दिनभएर धमाृवबोध गराउनु भयो । उहाँले तीनवटा बौद्ध सम्मेलनहरु पनि गर्नुभयो । उहाँको आयु एक लाख भएको र धेरै मानिसहरुलाई ज्ञान फैलाएर नन्दाराम विहारमा निर्वाण प्राप्त गर्नुभयो । त्यस स्थानमा उहाँको नाममा ३६ योजन अग्लो स्तूप निर्माण गरेको कुरा उल्लेख भएको छ ।

दीपंकर बुद्ध बारे विभिन्न बौद्ध जातक र अवदान ग्रन्थहरु सर्वानन्द नृप जातक, सुगतावदान, पिण्डपात्रावदान, महावस्तुवदान र कपिसावदानहरुमा चर्चा भएको पाईन्छ । ती जातक तथा अवदानहरुमा दीपंकर बुद्धको समयमा शाक्यमुनि बुद्धले बोधिसत्व हुनुभएको अवधिमा दान सम्बन्धि जोडिएका विभिन्न कथाहरु उल्लेख भएको पाइन्छ । ती जातक तथा अवदानहरुमा उल्लेख भए अनुसार शाक्यमुनि बुद्ध पूर्व जन्ममा सुमेधाको रुपमा जन्म हुदाका अवधिमा भविष्यमा बुद्ध हुनेछ भनि दीपंकर बुद्धले भविष्यवाणी गर्नुृभएको थियो । त्यस्तै कपिसावदान जातक कथा अनुसार दीपंकर बुद्धले किंशुक वनमा भिक्षाटन गरिरहेको बेला त्यहाँेका बाँदरहरुका नाइके ज्ञानाकार बाँदरलाइृ दान दिन मन लाग्छ । ती ज्ञानाकार बाँदरले कटहर दान गर्दछ र पछि अरु बाँदरहरुले पनि कटहर दान गर्छन् । सो दानको फलस्वरुप ज्ञानाकार बाँदर मुक्त भएर कामार्थी नगरमा भुवनान्द सार्थबाहुका छोरा धर्मश्री बालकको रुपमा जन्म भयो । उनै धर्मश्री बालक नौ वर्षको उमेरमा साथीहरुसंग खेलिरहेको बेला दीपंकर बुद्ध भिक्षाटन गरिरहनु भयो । दीपंकर बुद्धलाई दान गरिरहेको देखेर धर्मश्री बालकलाई पनि दान दिन मन लाग्छ । तर ऊ धूलोमा खेलिरहेकोले हातमा धूलो वाहेक केही नभएपछि उनले दीपंकर बुद्धलाई राखी दिएको धूलो सुनमा परिणत भयो र अरु भिक्षुहरुलाई दान दिएको धूलो विभिन्न अन्नहरुमा परिणत भयो । दीपंकर बुद्ध खुशी भएर धर्मश्री बालकलाई अर्को जन्ममा दीपावती नगरको रुाजा भएर जन्म होस् भनी आशिर्वाद दिनुभयो । धर्मश्री बालकको निधन भएपछि दीपावती नगरमा सुशीलानन्द राजाको छोराको रुपमा जन्म भएर सर्वानन्द राजाको रुपमा प्रख्यात भयो । सर्वानन्द राजा भएपछि एक सुनारको भट्टीमा धातुको काम गरी ठूलो परिश्रमका साथ धन आर्जन गरेर दीपंकार बुद्ध लगायत अन्य भिक्षुहरुलाई दान गरेको कुरा उल्लेख भएको पाइन्छ । यसरी यी जातक कथाहरुमा उल्लेख भएका ज्ञानाकार बाँदर, धर्मश्री बालक र सर्वानन्द राजा सबै शाक्यमुनि बुद्धका पूर्व जन्महरु हुन् । यी जातक र अवदान कथाहरुबाट के स्पष्ट हुन्छ भन्ने शाक्यमुनि बुद्धको बोधिसत्वको अवस्थामा दानपारमिता पूरा गर्ने सिलसिलामा दीपंकर बुद्धको ठूलो भूमिका रहेको छ । यी कथाहरु जनमानसमा धेरै नै प्रभाव परेको देखिन्छ । त्यसैले शाक्यमुनि बुद्ध भन्दा पनि अग्रज बुद्ध त दीपंकर बुद्ध हो भनि दीपंकर बुद्धको कल्पना गरेर मूर्तिहरु बनाएको पाइन्छ । नेपाली बौद्ध जनमानसमा पनि धेरै प्रभाव परेकोले दीपंकर बुद्धको मूर्ति बनाउन दुई किसिमले परिकल्पना गरेको पाइन्छ । १) विहार र बहीहरुमा प्रतिस्थापित गर्न बनाएका मूर्ति र २) घर–घरमा प्रतिस्थापित गर्न बनाएका मूर्ति ।

विहार र बहीहरुमा प्रतिस्थापित गर्न बनाएका मूर्ति

विहार र बहीरुमा प्रतिस्थापित दीपंकर बुद्धको प्रतिमा मानिसहरुको स्वाभाविक रुप भन्दा ठूलो हुन्छ । दीपंकर बुद्धको टाउको अथवा मुख र हात माटो, काठ र धातुको बनाइन्छ । यदि धातुको मुखाकृति छ भन्ने सूनको मोलम्वा लगाएको हुन्छ । माटो अथवा काठको छ भन्ने रातो र्रग लगाएको हुन्छ । टाउको वाहेक अरु शरीरको भाग वाँस, काठ आदिबाट डोको बुनेको जस्तो बनाएको हुन्छ । शरीर बाहिर डोको बुनेको जस्तो नदेखियोस् भनेर विभिन्न भेषभुषाहरु र गरगहनाहरुले ढाकेको हुन्छ । तर खुट्टा भन्ने बनाइदैन । शरीर बाहिर डोको बुनेको जस्तो हुने भएकोले भित्री भाग खोक्रो हुन्छ । दीपंकर बुद्धको टाउकोमा पञ्चबुद्ध युक्त भएको मुकुटमा इयूँ, मुगा, हीरा, आदी बहुमूल्य पत्थरहरु जडान गरिएको हुन्छ । त्यस्तै सुन र चाँदीका विभिन्न गहनाहरु तायः, किकिंपा, बिजं, हेलफ्व, नाग, वज्र, तास्वं, सूर्यफ्व, कुण्डल, श्रीपर्व, बोगाँ, मोम्ह आदिले घाँटी, काँध र टाउकोमा सुसज्जित तुल्याइएको हुन्छ । दीपंकर बुद्धको दुई हात हुन्छ । दुई हात मध्ये दाहिने हात अभय मूद्रामा हुन्छ, जुन मुद्रा संरक्षणको सांकेतिक चिन्ह हो । देव्रे हात वरद मूद्रामा हुन्छ, जुन मूदा केही वस्तु दिएको सांकेतिक चिन्ह हो । जातक तथा अवदानहरुमा दीपंकर बुद्धले भिक्षाटन गरेको उल्लेख भएकोले सोही अनुसार भिक्षाटन गराउन दीपंकरको प्रतिमा भित्र मान्छे पसीे एक ठाउँबाट अर्को ठाउँमा सजिलैसंग जान भित्र पसेको मान्छेले बाटो देख्न सकियोस् भनि छातीनिर दुईवटा प्वाल बनाएको हुन्छ । टाउकाको पछाडी अण्डाकार प्रभामण्डल हुन्छ । प्रभामण्डलको किनारातिर अलंकरण गरिएको हुन्छ । अनुहारमा शान्त भाव देखाएको हुन्छ ।

घर–घरमा स्थापित दीपंकर बुद्ध

घर–घरमा स्थापित दीपंकर बुद्धको प्रतिमा टाउको देखि खुट्टासम्म बनाएको हुन्छ । टाउकोमा मुकुट लगाएको हुन्छ । निधारमा उर्णाको प्रयोग हुन्छ । कान लाम्रो बनाएको हुन्छ । मुहारमा शान्त भाव हुन्छ । दीपंकर बुद्धको दुई हात हुन्छ । दायाँ हात अभय मुद्रामा हुन्छ भने बायाँ हात वरद मुद्रामा हुन्छ । दायाँ काँधमा चीबर हुँदैन भने बायाँ काँधमा मात्र चिबर हुन्छ । चिबर खुट्टाको नलीसम्म हुन्छ । चिबर मुजा मुजा परेको हुन्छ । चिबरको किनारामा अलंकरण गरिएको हुन्छ । कान लाम्रो हुन्छ । चक्रमण गरेको जस्तो गरी देखाउन एउटा खुट्टा अलि अगाडी पारेर बनाएको हुन्छ । यस्तो दीपंकर बुद्ध सानो साइजको र काठ, धातु, सुन वा चाँदीको बनाएको हुन्छ । यदि धातुको छ भने सुनको मोलम्वा लगाएको हुन्छ । गरगहनाहरु पनि लगाएको हुन्छ । दीपंकर बुद्धको रंगको प्रतीक पहेलो हो ।

जुनु बासुकला रञ्जितकार

(जुनु बासुकला रञ्जितकार पाटन संयुक्त क्याम्पसमा उप प्राध्यापक हुनुहुन्छ)

Facebook Comments
ब्यानर, लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *