आज धन्वन्तरी जयन्ती

कार्तिक १९ – जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको उपचारका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको हिन्दू धर्मशास्त्रमा उल्ल्ेख छ । आजको दिनलाई आयुर्वेद चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा पनि लिने गर्छन् । १९७४ सालमा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस अहिले काठमाडौंको कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा विविध कार्यक्रम हुँदैछ । यस्तै, कात्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ । यमपञ्चकको पहिलो दिन आज बेलुकीदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान पनि गर्ने गरिन्छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *