असोज २४ – हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु नेपालीको मुख्य पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *