भाद्र २३ –  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नै नरहेको स्पष्ट पार्नुभएको छ । जिल्ला समन्वय समिति महासंघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गर्दे राम्रो काम गरिरहेमा कुनै मन्त्री नहट्ने जिकिर गर्नुभयो । उहाले आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै अघि बढिरहेको , ६ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुने , दुई वर्षभित्र काठमाडौ‌ंका बाटा पक्की भन्दै इमान्दारिताका साथ काम गर्ने धारणा पनि राख्नुभयो । चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै प्रधानमन्त्री ओलीले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण सुरु हुने बताउनुभयो ।

उहाँले मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्‌बाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँनुभयो । त्यस्तै नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भ्रष्टाचार अन्त्यका लागी प्रधानमन्त्रीबाटै त्यसको सुरुवात गनुपर्ने भन्दै सुशासन तर्फ गम्भीर रुपमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा महासंघका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *