जेठ १४ – नाटक सम्बोधि र अवान्तरपछि रङ्गकर्मी राम के.ए.सी. अश्वेत लिएर रङ्गमञ्चमा देखिएका छन् । नाटक अश्वेतमा नारीअस्तित्वको विषयलाई उठान गरिएको छ । युगौँदेखि पुरुषप्रधान समाजमा नारीको हकहित तथा अधिकारका कुराहरू धेरै भए । नारी समानता तथा स्वतन्त्रताका कुराहरू पनि निकै भए तर यसबीचमा नारी अस्तित्वको कुरा गरिएको देखिँदैन । संसारको सन्तुलनका लागि नारी र पुरुषको सृष्टि त भयो तर समयक्रमसँगै पुरुषसत्ता प्रधान बन्न पुग्दा नारीको अस्तित्व कुण्ठित हुन पुग्यो ।

हरेक युगमा नारीको जीवन जटिल सङ्घर्षले भरिएको हुन्छ । युगले जतिसुकै नारी समानता तथा स्वतन्त्रताको कुरा गरे पनि नारीको अस्तित्व औचित्यपूर्ण हुन सकेन किनभने त्यो नारीको लागि पुरुषद्वारा बोलिएको आवाज थियो । आफ्नो अस्तित्वको लडाईमा नारी स्वयम् जागरुक हुनुपर्छ । युगले चलाइरहेका कैयौँ प्रश्नहरूको परशुलाई टुक्रा–टुक्रा पार्ने क्षमता नारी स्वयम्ले राख्नुपर्छ भन्ने भावमा आधारित रहेको छ नाटक ‘अश्वेत’ ।

यसमा नवआधुनिक रङ्गशिल्पको प्रयोग गरिएको छ । नाटकमा अमृता खनाल, शिवप्रसाद अधिकारी, शिक्षा के.सी, विज्ञान गजुरेल, दिलिप खड्का, किरन चापागाइँ, प्रदीप बास्तोला, तिर्सना राई, एलिजा अधिकारीको अभिनय रहेको छ । राष्ट्रिय नाचघरको मिनि हलमा जेठ ८ गतेदेखि प्रदर्शन सुरु गरिएको प्रस्तुत नाटकको मञ्चन जेठ १९ गतेसम्म गरिनेछ ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *