मोनोरेलको  डिपिआर तयार पार्ने जिम्मा चिनियाँ कम्पनीलाई

पुस ४ – काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको हो । चक्रपथमा निर्माण गर्न लागिएको मोनोरेलको फिजिविलिट अध्ययन पनि सोही चिनियाँ कम्पनीले गरेको थियो । महानगर र चिनियाँ कम्पनीबीच ६ महिनामा फिजिविलिटी रिपोर्ट तयार पार्ने गरि सम्झौता भएको थियो । चिनियाँ कम्पनीले ३ महिनाअघि अध्ययन सकेर गत भदौमा रिपोर्ट बुझाइसकेको छ । सम्झौता अनुसार चिनियाँ कम्पनीले ६ महिना अध्ययन गरेर डिपिआरको ड्राफ्ट बुझाउने छ । एक बर्षमा भित्रमा फाइनल डिपिआर तयार पारेर काठमाडौं महानगरपालिकालाई बुझाउने छ । चीन सरकारको स्वामित्व रहेको कम्पनीले डिपिआरका लागि लाग्ने सम्पुर्ण लागत आफैले व्यहोर्ने छ । सम्झौता कार्यक्रममा डिपिआर निर्माण भएपछि निर्माण कार्य अघि बढाउने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । उहाले महानगरपालिकालाई कुनै आर्थिक भार नपर्ने गरी सम्झौता गरिएको जानकारी पनि दिनुभयो । त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनिँया कम्पनीलाई जतिसक्दो छिटो काम अघि बढाउन आग्रह गर्नुभयो ।

सम्झौता अनुसार डिपिआरमा माटो परिक्षणसहित वातावरणीय प्रभाव मुल्याङकन (ईआइए), मोनोरेलको डिजाइन, प्राविधिक एवम निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना संचालनको चरण र लाभ समेत विश्लेषण हुनेछ । साढे २७ किलोमिटरको चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा १० किलोमिटर पर्दछ । चक्रपथमा अहिलेको अवस्थालाई आंकलन गरि ३ चरणमा निर्माणको काम गर्दा उपयुक्त हुने सम्भाव्यता अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनले देखाएको लागत करिव १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ ।

Facebook Comments
BANNER, SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *