मंसिर २९ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको शनिबार काठमाडौंको वसन्तपुरमा उद्घाटन गर्दै उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ अघि बढ्ने उल्लेख गर्नुभयो । अहिले पनि प्रशासनिक र वित्तीय हिसाबले सङ्घीयताको नमूनालाई प्रयोग गर्न नसकिएको भन्दै उहाले आगामी हिउँदे अधिवेशनबाट कानून बनाएर प्रभावकारी कार्यान्वयनमा लगिने जानकारी पनि दिनुभयो । उहाँले महानगरलाई नयाँ ढङ्गले विकास र समृद्ध बढाउन प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्कृति र पुरातात्विक सम्पदाको महत्वपूर्ण थलोका रुपमा परिचित काठमाडौँ महानगरको योजनाबद्ध विकासका लागि सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सम्पदा संरक्षणसँगै व्यवस्थित शहरीकरणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकाको स्मारिका विमोचन गर्नु भएको थियो भने काठमाडौँका प्रथम निर्वाचित पूर्व प्रमुख जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल मण्डल टेलिभिजनका समाचार प्रमुख एव‌म उज्यालो एफएमका पत्रकार सिल्भिया राजोपाध्याय् , सम्यक वाःपाैका सम्पादक सुगत रत्न सिन्दुराकार, नेवाः एफएम अनक मिडियाका अध्यक्ष नवीन महर्जन सहित १० जना पत्रकारलाई ५०,००० राशीको सुशासन पत्रकारीता पुरस्कार प्रदान गरिएको थियो । आगामी पुस ३ गतेसम्म चल्ने महोत्सवमा स्थानीय संस्कृति, खानाका परिकारको प्रदर्शनी तथा महानगरको विभिन्न गतिविधिसम्बन्धी कक्ष राखिएको छ ।

Facebook Comments
BANNER, SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *