कार्तिक १२ – नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार काठमाडौमा आयोजित बिशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ । समझदारीअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च सम्बन्धित रोजगारदाता कम्पनीले बेहोर्ने छ । सम्झौता अनुसार कामदारले लेबी पनि तिर्नुपर्दैैन भने करार अवधि तीन वर्ष रहँदै आएकोमा घटाएर दुई वर्ष बनाइएको छ । तलब मलेसिया सरकारले तोकेको न्यूनतम तलबभन्दा कम नहुने गरी प्रत्येक महिनाको ७ गते बैंक खातामा पठाइने छ । त्यसैगरी कामदारको परिवारका सदस्यको मृत्यु भए १५ दिनका लागि नेपाल आउन पाउने, मलेसियामा रहेको नेपाली दूतावासलाई कामदारको अंगभंग तथा घाइते भएको जानकारी गराउने, कामदारको मृत्यु भए शव रोजगारदाता कम्पनीले पठाउने र महिला कामदारलाई विशेष सुरक्षा प्रदान गर्ने विषयमा समझदारी भएको श्रम मन्त्री विष्टले जानकारी दिनुभयो ।

त्यस्तै मलेसियाका मानव संशाधन मन्त्री कुलाशेगरनले कामदार लिने पठाउने दुवै देशमा रहेको प्रक्रियालाई यो समझदारीले थप मर्या्दित, सुरक्षित र प्रणालीगत ढंगको बनाउने जानकारी दिनुभयो । उहाले नेपालसहित नौ देशसँग मलेसियाले यस्तो समझदारी गरेको बताउनुभयो ।  समझदारीअनुसार कामदारको स्वास्थ्य परीक्षण तथा सुरक्षा क्लियरेन्समा लाग्ने शुल्क तत्कालका लागि रोजगारदाता कम्पनीले बेहोर्ने र मलेसिया पुगेपछि कामदारको पहिलो महिनाको तलबबाट कट्टा गरिने छ । विगतमा कामदारको पासपोर्ट रोजगारदाता कम्पनीले लिने गरेकोमा अबदेखि पासपोर्ट कामदार आफैंले साथमा राख्न पाउने छन् । त्यसैगरी समझदारीपत्रको प्रभावकारी कार्यान्वयन गर्न तथा विगतमा रहेको र आउन सक्ने समस्या समाधान गर्न संयुक्त कार्य समूह गठन गरिएको छ ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *